काठमाडौँ / जिल्ला प्रहरी परिसर काठमाडौँको आयोजनामा ‘लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’ अन्तर्गत आज भि.ए.स निकेतन कलेजमा “लैङ्गिक हिंसा न्यूनीकरण र साइबर अपराध सम्बन्धी सचेतनामूलक कार्यक्रम” सम्पन्न भएको छ। काठमाडौँ महानगरपालिका–३१ का वडा अध्यक्ष सरोज ढकालको अध्यक्षता तथा जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाको प्रमुख आतिथ्यतामा उक्त सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, शिक्षक, स्थानीयवासी, सञ्चारकर्मी, प्रहरी कर्मचारी र विद्यार्थी गरी करिब २५० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा लैङ्गिक हिंसा न्यूनीकरण तथा साइबर अपराध सम्बन्धी जोखिम, चुनौती र रोकथामका उपाय बारे विस्तृत सचेतनामूलक प्रशिक्षण प्रदान गरिएको थियो। भिएस निकेतन कलेजका विद्यार्थीहरूले प्रस्तुत गरेको लैङ्गिक हिंसा सम्बन्धी नाटकले कार्यक्रमको प्रभावकारिता झनै बढाएको थियो।
प्रमुख अतिथि एसएसपी रमेश थापाले कार्यक्रमलाई सम्बोधन गर्दै लैङ्गिक हिंसा तथा साइबर अपराध रोकथामका लागि कानूनी उपाय मात्र पर्याप्त नहुने उल्लेख गरेका छन् । उनले घर–परिवार, विद्यालय तथा समुदाय सबै तहमा सम्मान, समता र खुला संवादको संस्कृति विकास गरिनु आवश्यक भएको बताउँदै लैङ्गिक हिंसा मुक्त समाज तथा साइबर सुरक्षित भविष्य निर्माणका लागि सामूहिक चेतना, उत्तरदायित्व र परिवर्तनको साझा प्रतिज्ञा अनिवार्य रहने बताएका हुन् ।