Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फिल्मी स्टाइलमा ब्याग लुट्ने समूह पक्राउ: प्रहरीको फास्ट अपरेशन, एकैदिन तारकेश्वरबाट ४ जना समातिए

फिल्मी स्टाइलमा ब्याग लुट्ने समूह पक्राउ: प्रहरीको फास्ट अपरेशन, एकैदिन तारकेश्वरबाट ४ जना समातिए

काठमाडौं: तारकेश्वर नगरपालिका क्षेत्रमा पछिल्ला दिनमा बढिरहेको ‘स्न्याचिङ’ अपराध नियन्त्रण गर्न प्रहरी वृत्त बालाजुले सञ्चालन गरेको विशेष अपरेशनका क्रममा महिलामाथि लुटपाट गर्दै आएका ४ जनाको समूह पक्राउ परेका छन्। वृत्तका प्रमुख निरीक्षक ज्ञानबहादुर बिष्टको नेतृत्वमा खटिएको टोलीले घटना भएको एक दिनमै अपराधीलाई समात्न सफल भएको हो। २०८२ मंसिर ८ गते तारकेश्वर–११, नेपालटार सडकखण्डमा स्थानीय महिला रन्जु शर्मा आफ्ना दैनिक कामबाट घर फर्किँदै गर्दा मोटरसाइकलमा आएका दुई व्यक्तिले अचानक उनको लेडीज ब्याग छिनेर भागेका थिए। घटनापछि पीडितद्वारा दिएको उजुरी र घटनास्थल वरपरका CCTV फुटेज तथा स्थानीयबाट प्राप्त सूचनाको आधारमा प्रहरीले शीघ्र अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानकै क्रममा प्रहरी टोलीले मंसिर ९ गते तारकेश्वर–८ सुकुम्बासी टोलमा सञ्चालन गरेको पछिल्लो खोजतलासमा सो घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा २७ वर्षीय ईश्वर बुढाथोकी (स्याङ्जा), २० वर्षीय विशाल राई (नुवाकोट), १८ वर्षीय साजन तामाङ (नुवाकोट) र १९ वर्षीय समिर तामाङ (नुवाकोट) रहेका छन्। प्रारम्भिक बयानमा पक्राउ परेकाहरूले महिलालाई ‘सजिलो लक्ष्य’ मान्दै काठमाडौंका विभिन्न भेगमा यस्तै तरिकाले ब्याग तथा मोबाइल छिन्ने अपराध गर्दै आएको स्वीकार गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूको खोजतलास गर्दा प्रहरीले २ थान लेडीज ब्याग, ११ थान मोबाइल, बैंकका एटीएम कार्डहरू, विभिन्न परिचयपत्र, चाबीका थुप्रो, सुनजस्ता गहना, पेनड्राइभ तथा नगद २,५०५ रुपैयाँ बरामद गरेको छ।

बरामद गरिएका सामग्रीमध्ये केही पहिल्यै उजुरी परेका घटनासँग मेल खाने देखिएपछि प्रहरीले थप अनुसन्धानलाई तीव्र पारेको छ। प्रहरीका अनुसार पछिल्लो समय काठमाडौं उपत्यकामा मोटरसाइकल प्रयोग गरी विशेषतः महिलालाई लक्षित गरी हुने लुटपाट बढ्दै गएको छ। लुटपाटका अधिकांश घटनामा अपराधीले रातको समयमा कम भीडभाड भएका सडक छनोट गर्ने, हेलमेटले अनुहार छोप्ने तथा मोबाइल फोन र साना बैग झिकेर भाग्ने गरेको देखिन्छ। यसै कारण प्रहरीलाई यस्ता अपराध नियन्त्रण गर्न गस्ती बढाउनुपर्ने, CCTV निगरानी सशक्त बनाउनुपर्ने तथा नागरिक स्वयं पनि सजग रहनुपर्ने आवश्यकता बढेको छ।

बालाजु प्रहरीले पक्राउ परेकामाथि चोरी र लुटपाटसम्बन्धी मुद्दा दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ। साथै, प्रहरीले अन्य सम्भावित पीडितलाई आफूहरूसँग भएका प्रमाणसहित प्रहरी सम्पर्कमा आउन आग्रह गरेको छ। प्रहरीले यो सफलताले उपत्यकामा बढ्दै गएको ‘स्न्याचिङ’ नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।