काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा आइतबार विराटनगरमा आयोजित कार्यक्रममार्फत करिम अन्सारीसहित दर्जनौँ व्यक्ति प्रवेश गरेका छन्। वडा नं. १२ को वडा अधिवेशनको क्रममा रास्वपा विराटनगर महानगर सभापति कृष्ण निरौला, मोरङ जिल्ला उपसभापति बिमला बस्नेत र धनपाल गाउँपालिका सभापति दिपेश शाहको उपस्थितिमा अन्सारीले पार्टी प्रवेश गरेका हुन्।
पार्टी प्रवेशपछि अन्सारीले आफू इमान, निष्ठा र कर्मप्रति प्रतिबद्ध हुँदै रास्वपामा आएको बताए। उनले पार्टी सभापति रवि लामिछानेप्रति गहिरो प्रभावित भएको पनि जनाए। उनले भने, ‘रास्वपा अहिले देशले आवश्यक ठानेको नेतृत्व हो, म जनताको पक्षमा उभिने अभियानसँग जोडिन आएको हुँ।’
विराटनगर–१ मा जन्मिएका करिम अन्सारीको जीवन कठिनाइ र संघर्षको उदाहरण हो। सात वर्षको उमेरमै आमाको मृत्यु भयो, दश वर्षमै घर छाडेर सडकपेटीमा बस्न पुगे। भोक र अभावसँग जुध्दै उनले इटहरीमा टेम्पो खलासी, रिक्सा चालकदेखि माइक्रो र बस खलासीसम्मको यात्रा गरे।
समयक्रममा उनले वित्तीय संस्थाबाट ऋण लिएर २०६७ सालमा ३८ लाखमा पहिलो बस किने। कडा मेहनत र व्यवस्थापन क्षमताले अहिले उनी चार वटा बसका मालिक बनेका छन्।
२०७९ सालमा एक घटनाले उनको जीवनको दिशा बद्लियो। मलामी बसको भाडा तिर्न नसकेर चन्दा उठाइरहेको दृश्यले उनलाई भावुक बनायो र उनले निर्णय गरे– ‘अब विराटनगरमा कसैले पनि मलामी लैजान पैसाको चिन्ता गर्नुपर्ने छैन।’
त्यसपछि उनले आफ्नो एउटा बस पूर्ण रूपमा निःशुल्क मलामी सेवाका लागि समर्पित गरे। अहिलेसम्म ७४३ पटक सो सेवा प्रदान भइसकेको छ।
यससँगै उनले ५० जना गरिब बालबालिकालाई विद्यालय आउजाउ गर्न निःशुल्क बस सेवा पनि संचालन गरिरहेका छन्। एक महिनामा करिब एक लाख रुपैयाँ खर्च हुने यो सेवा उनी आफ्नै व्यवसायिक आम्दानीबाट चलाउँदै आएका छन्। करिम भन्छन्,‘धनले मान्छेलाई स्वार्थी बनाउँछ, तर मनले मान्छेलाई संसारकै धनी बनाउँछ।’ उनका ३ सन्तान छन्। आफू पढ्न नपाए पनि उनी आफ्ना छोराछोरीलाई चाहेजति पढाउने लक्ष्य राख्छन्।
रास्वपामा प्रवेशपछि करिम अन्सारीले आफ्नो सामाजिक सेवाको दायरा अझ प्रभावकारी रूपमा बढाउने विश्वास व्यक्त गरेका छन्। पार्टी नेतृत्वले पनि अन्सारीको सेवाभाव र जीवन–संघर्षलाई आदर्शका रूपमा प्रस्तुत गर्दै स्वागत गरेको छ।