काठमाडौं - कान्तिलोकपथ सडक खण्डमा ट्रक पल्टिँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ। शुक्रबार (आज) बिहान बकैया गाउँपालिका–११ लेनडाँडास्थित कान्तिलोकपथमा परालको भुस बोकेको ट्रक अनयन्त्रित भएर सडकमै पल्टँदा सडक अवरुद्ध भएको मकवानपुर प्रहरीले जनाएको छ ।
मकवानपुर प्रहरीका अनुसार आज बिहान ४ः४५ बजे बाराबाट परालको भुस लोड गरेर काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ ख १३६५ नम्बरको मिनि ट्रक अनियन्त्रित भई सडककोबीच भागमा पल्टिएको हो।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी पोष्ट जितपुरभज्याङबाट प्रहरी वरिष्ठ हवल्दार सुरेन्द्र दरैको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) पुस्कर बोगटीले जानकारी दिए। उनका अनुसार दुर्घटनामा कुनै मानविय क्षति भएको छैन।
ट्रक चालक बारा कोल्बी नगरपालिका–४ निवासी २४ वर्षीय समिर तामाङ प्रहरी सम्पर्कमा रहेका छन् भने सडक अवरुद्ध भएकाले सवारी सञ्चालनमा कठिनाइ भएको डीएसपी बोगटी बताउँछन्। ट्रक हटाउन क्रेनमार्फत समन्वय भइरहेको प्रहरीले जनाएको छ।