काठमाडौँ, १ पाङबोचेस्थित पाङबारी पिक आरोहणका क्रममा सम्पर्कविहीन भएका दुई इटालियन नागरिक मृत फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार मृतकहरूमा ५१ वर्षीय फार्नातो स्तेफानो र २८ वर्षीय कापुतो आलेस्सान्द्रो रहेका छन्। कात्तिक १३ गतेदेखि सम्पर्कविहीन रहेका उनीहरू भीषण हिमपातका कारण पिकमा फसेका थिए।
उनीहरूको शव हिउँले पुरिएको अवस्थामा फेला परेपछि मंगलबार उद्धार गरी सामागाउँको हेलिप्याडमा ल्याइएको हो। कात्तिक १ गते पाङबारी पिक आरोहणका लागि तीन इटालियन र तीन नेपाली गरी छ सदस्यीय टोली गएका थिए। तीमध्ये एक इटालियनसहित चार नेपालीलाई आइतबार सकुशल उद्धार गरिएको थियो।