Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

डोल्पामा चार दिनदेखि टेलिफोन सेवा ठप्प, स्थानीय र पर्यटक दुबै समस्यामा

डोल्पामा चार दिनदेखि टेलिफोन सेवा ठप्प, स्थानीय र पर्यटक दुबै समस्यामा

 काठमाडौँ, लगातार चार दिनदेखि परेको हिमपातका कारण उत्तरी डोल्पाको उपल्लो क्षेत्र सम्पर्कविहीन बनेको छ। नेपाल टेलिकमका पुराना टावरहरूमा अवरोध आएपछि फोन सेवा पूर्ण रूपमा ठप्प भएको हो।

शे–फोक्सुण्डो गाउँपालिकाका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङका अनुसार गाउँमा रहेका आधा दर्जन टावर घाम लाग्दा पनि राम्रोसँग काम नगर्ने र हिमपात हुँदा पूरै बन्द हुने समस्या वर्षौँदेखि दोहोरिँदै आएको छ। उनका अनुसार देशका धेरै पर्यटकीय क्षेत्रमा फाइभजी सेवा पुगे पनि स्थानीय बस्तीमा अझै फोनसमेत लाग्दैन, जसले सरकारप्रति असन्तुष्टि बढाएको छ।

फोन सेवा नहुँदा स्थानीय मात्र होइन, फोक्सुण्डो ताल घुम्न आएका पर्यटकहरू समेत समस्यामा परेका छन्। मौसमबारे जानकारी लिन नपाउँदा उनीहरूको यात्रा जोखिमपूर्ण बन्ने गरेको छ।

उपल्लो डोल्पाका अन्य गाउँपालिका डोल्पोबुद्ध र छार्का ताङ्सोङ पनि चार दिनदेखि सम्पर्कविहीन छन्। हिमपातका कारण बाटो बन्द भएको र गाउँ गाउँबीचको सम्पर्क समेत टुटेको स्थानीयहरूले बताएका छन्।

हाल उक्त क्षेत्रमा तीन फिटभन्दा बढी हिउँ जमेको छ, जसले जनजीवन र पशुपालन दुबै कष्टकर बनेको ताक्सि गाउँका बासिन्दाले गुनासो गरेका छन्। स्थानीयहरूले सरकारसँग उच्च सोलार ब्याकअपसहितको फोरजी सेवा स्थापना गर्न माग गरेका छन्।