Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

‘मोन्था’ चक्रवातको प्रभाव, देशभर भारी वर्षा र हिमपातको सम्भावना

‘मोन्था’ चक्रवातको प्रभाव, देशभर भारी वर्षा र हिमपातको सम्भावना

काठमाडाैं, बिहीबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशका मध्य र पूर्वी भूभागमा लगातार वर्षा भइरहेको छ। काठमाडौंमा हाल मध्यम वर्षा भइरहेको छ भने पछिल्ला २४ घण्टामा उदयपुरगढीमा सबैभन्दा बढी ४५.२ मिलिमिटर वर्षा मापन गरिएको छ।

मौसमविद् उज्ज्वल उपाध्यायका अनुसार अहिले भइरहेको वर्षा पश्चिमी वायुको प्रभाव हो, जसमा बंगालको खाडीमा विकसित ‘मोन्था’ चक्रवातको आंशिक प्रभाव मिसिएको छ। यो चक्रवात बिहीबार अपराह्नदेखि पूर्ण रूपमा सक्रिय हुने र मेचीदेखि गण्डकीसम्म भारी वर्षा तथा उच्च हिमाली भेगमा हिमपात हुने अनुमान गरिएको छ।

विशेषज्ञहरूले आज र भोलि यात्रा नगर्न सुझाव दिएका छन्, किनभने हवाई उडानहरू समेत प्रभावित हुन सक्नेछन्। मौसमविद् विनोद पोखरेलका अनुसार बुधबार बेलुकादेखि पूर्वी नेपालमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ र आज रातिदेखि अझ तीव्र हुने सम्भावना छ।

जल तथा मौसम विज्ञान विभागले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी र हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको छ। मौसम शनिबार बिहानदेखि मात्र सुधार हुने विभागको पूर्वानुमान छ।