काठमाडौं, लगातार परेको हिमपात र खराब मौसमका कारण तिलिचो ताल (४,९१९ मि.) गएका ८०० देखि ९०० पर्यटक तिलिचो बेस क्याम्पबाटै फर्किएका छन्। मनाङ ङिस्याङ गाउँपालिका–९ खाङसारका वडाध्यक्ष च्योल्पा गुरुङका अनुसार हिजो साँझदेखि हिउँ पर्न थालेपछि आज माथिल्लो भागतर्फ कोही पनि जान सकेका छैनन्।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार हुम्डेदेखि खाङसारसम्मको सडकमा हिउँ हटाउने कार्य जारी छ। प्रहरी, सशस्त्र प्रहरी र सेनाको संयुक्त टोली डोजर, बेल्चा र सावेल प्रयोग गरी सडक खुलाउने काममा खटिएको छ। उनले एक जना बिरामीको उद्धार गरी हुम्डे स्वास्थ्य चौकीमा उपचार भइरहेको बताए।
फर्किएका पर्यटकमध्ये अधिकांश स्वदेशी रहेको र विदेशी पर्यटक भने आफू बसेका होटलमै रोकिएको जनाइएको छ। प्रशासनले सबैलाई सुरक्षित रहन र मौसम सामान्य नहुँदासम्म माथिल्लो मनाङतर्फ नजान आग्रह गरेको छ।