Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मुस्ताङमा अकालमै बाक्लो हिमपात, यात्रुहरूलाई सतर्क रहन आग्रह

मुस्ताङमा अकालमै बाक्लो हिमपात, यात्रुहरूलाई सतर्क रहन आग्रह

काठमाडौँ, मुस्ताङ जिल्लामा हिउँद सुरु हुनुअघि नै यस वर्षको पहिलो बाक्लो हिमपात भएको छ। मंगलबार बिहानदेखि निरन्तर परेको हिमपातले उपल्लो मुस्ताङका लोमान्थाङ, कोरलानाका र मुक्तिनाथ क्षेत्रलगायतका गाउँहरू सेताम्मे बनेका छन्।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार उपल्लो र तल्लो मुस्ताङका उच्च लेक क्षेत्रहरूमा वर्षासँगै हिमपात भएको छ। “लोमान्थाङ–२ छोसर, कोरलानाका र मुक्तिनाथ वरिपरि बाक्लो हिउँ परिरहेको छ, जसले यस वर्षको हिउँद औपचारिक रूपमा सुरु भएको संकेत गर्छ,” उनले बताए।

मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले बिहानैदेखि निरन्तर हिउँ परिरहेको र मन्दिर जाने दर्शनार्थीहरूलाई कठिनाइ भएको जानकारी दिए। उनका अनुसार, “हाल करिब छ इन्चसम्म हिउँ जमेको छ, यही दरमा परिरहे दुई फिटसम्म पुग्न सक्छ।”

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार माथिल्लो लेक क्षेत्रमा बाक्लो हिमपात भइरहेको छ भने बस्ती नजिक हल्का वर्षा र हिउँ मिसिएको छ। उनले भने, “दुई–तीन वर्षपछि कात्तिकमै हिउँ परेको हो। यो किसानका लागि अत्यन्त लाभदायक छ, किनभने यसले जमिनको भित्री तह सिञ्चित गरी अन्नबालीको उत्पादन सुधार गर्छ।”

त्यस्तै, वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका वडाध्यक्ष प्रमेश गुरुङका अनुसार खिङ्गा, झोङ, छेङ्गुर, फल्याकलगायत उच्च स्थानका गाउँहरूमा बाक्लो हिउँ परेको छ। उनले भने, “हिमपातसँगै तापक्रम एकाएक घट्दा जनजीवन प्रभावित बनेको छ, तर प्रारम्भिक हिमपातले स्याउ र जौ जस्ता बालीलाई फाइदा पु¥याउनेछ।”

जिल्ला प्रशासन कार्यालयले कागबेनीदेखि माथिल्लो क्षेत्र, विशेष गरी मुक्तिनाथसम्मको यात्रा नगर्न आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) छिरिङ किप्पा लामाका अनुसार जोमसोम–मुक्तिनाथ सडकखण्डका विभिन्न भागमा बाक्लो हिउँ जमेकाले सडक अत्यन्त चिप्लो बनेको छ।

“कालोभिर, खिङ्गा र झारकोट क्षेत्रका घुम्ती सडकहरूमा बाक्लो हिउँ परेकाले सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक छ,” डीएसपी लामाले चेतावनी दिए। “हामी सबैलाई मौसम सामान्य नहुन्जेलसम्म यात्रा स्थगित गर्न आग्रह गर्छौं।”

स्थानीय प्रशासनले कृषिका लागि यो हिमपात लाभदायक भए पनि यात्रु र स्थानीयलाई सतर्क रहन आग्रह गरेको छ।