काठमाडौँ, उपत्यका प्रहरी प्रमुख एआईजी दान बहादुर कार्की सक्रियताका साथ खटिएका छन् । भदौ जेनजी आन्दोलनका क्रममा आगजनी,तोडफोड र लुटपाटबाट क्षति भएका प्रहरी भवन लगायतका अन्य स्रोत–साधनको पुनःनिर्माण एवं पुनःप्राप्तिका लागि उनी खटिएका हुन ।
नयाँ सरकार गठन भएलगत्तै एआईजी कार्कीले प्रधानमन्त्री सुशिला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल, भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङ र प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङलाई काठमाण्डौ उपत्यका अन्तर्गतका क्षतिग्रस्त संरचनाको अनुगमन गराउनुका साथै बस्तुस्थितीका बारेमा नियमित ब्रिफिङ समेत गर्दै आएका छन । उनको यस किसिमको सक्रियताले सरकारको ध्यान र प्राथमिकता प्रहरीको पुनःनिर्माणतर्फ केन्द्रित भएको हुँदा छोटो समयमै आवश्यक संरचना र स्रोत साधन पुनःनिर्माण हुने अपेक्षा गरिएको छ । प्रधानमन्त्री तथा मन्त्री सहित उच्चस्तरीय टोली स्वयं प्रहरी युनिटमै पुगेर स्थलगत अनुगमन र गुनासो सुन्ने कार्यमा संलग्न हुँदा प्रहरी कर्मचारीको मनोबल समेत उच्च बनेको छ ।
संकटको यस घडीमा उत्पन्न सुरक्षा चुनौतीका बाबजुत राजधानीसहित काठमाण्डौ उपत्यकाको शान्ति–सुरक्षा र अपराध नियन्त्रणसँगै प्रहरी कार्यालय तथा कर्मचारीको उचित व्यवस्थापनका लागि एआईजी कार्की विशेष योजनासहित परिचालन भएको देख्न सकिन्छ । प्रहरी कार्यालयका लागि आवश्यक श्रोत साधन जुटाउन कार्कीले सरकारी संयन्त्रसँग मात्र नभई गैरसरकारी संघसंस्था र स्थानीय समुदायसँग समेत निरन्तर समन्वय एवं सहकार्य गरिरहेका छन् । यस अवधीमा उपत्यका प्रहरी प्रमुख कार्कीको पहलमा करिब ५ करोड १० लाख बराबरको श्रोत साधन र १३८ वटा सवारी साधन प्राप्त भएका छन भने क्षतिग्रस्त १७७ वटा भवनको पुनस्र्थापना भई सेवा सञ्चालनमा आईसकेको छ ।
यस्तो कठिन परिस्थितिमा पनि एआईजी दान बहादुर कार्कीको निरन्तर सक्रियताका कारण उपत्यकाका अधिकांश प्रहरी कार्यालयहरुले केहि दिनमै प्रहरी सेवा प्रवाह सुचारु गर्न सक्षम भएका छन । बिहान ६ बजेदेखि राति १२ बजेसम्म मातहत प्रहरी कार्यालयको अनुगमनमा अहोरात्र खटिँदै आएका एआईजी कार्कीले “हाम्रो भवनमा मात्रै क्षति पुगेको हो भावनामा होईन, त्यसैले यस बिषम परिस्थितिमा पालमुनी बसेरै भएपनि उच्च भावनाले सेवा प्रवाह गर्नु हाम्रो धर्म हो” भन्दै मातहतका कर्मचारीलाई उत्प्रेरित गर्दै आएका छन । यसैको प्रतिफलस्वरुप भौतिक संरचनाको मात्र नभई कर्मचारीको मनोबलसम्म पुनःनिर्माण गर्ने उनको प्रतिबद्धताले संकटपछिको अवस्थामा पनि प्रहरी संगठनलाई उत्तिकै मजबुत र सक्रिय बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ ।