काठमाडौं, काठमाडौं उपत्यकाबाट दुई पाङ्ग्रे सवारी साधन चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेमा सर्लाहीको बागमती नगरपालिका ६ घर भई काठमाडौंको बौद्ध पिपलबोट बस्ने ३२ वर्षीय रविन मोक्तान र सिन्धुपाल्चोक घर बताउने ३० वर्षीय विवेक बिक रहेका छन् । को ३९ प ३०९९ नम्बरको स्कुटर चलाइरहेको अवस्था मोक्तानलाई गत २२ गते भक्तपुरको चाँगुनारायण नगरपालिका ६ नगरकोट गैरीगाउँ फूलचौकीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उक्त मोटरसाइकल मोरङका सुजन पोखरेलले काठमाडौँको अत्तरखेलबाट असोज १७ गते हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।मोक्तानलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि प्रहरी प्रभाग खरिपाटी भक्तपुर पठाइएको छ ।
यस्तै बा ८४ प १८४४ नम्बरको स्कुटर चलाइरहेको अवस्थामा बिकलाई काठमाडौंको टोखा नगरपालिका ३ बाट हिजो दिउँसो ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त स्कुटर पर्साकी ज्योती कुमारी चौधरीले काठमाडौंकै शंखपार्कबाट असोज २१ गते हराएको भनि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएकी थिइन् ।
स्कुटर सहित नियन्त्रणमा आएका बिकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिनु भयो ।