काठमाडौं, धादिङतर्फको सडक खण्डमा पहिरोको उच्च जोखिम देखिएपछि नागढुङ्गाबाट बाहिरिन लागेका करिब २५० सवारी साधनलाई ट्राफिक प्रहरीले काठमाडौंमै फर्काएको छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारीका अनुसार नागढुङ्गा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेको छ र तत्काल सडक खुल्ने सम्भावना नदेखिएकाले यात्रुहरूको सुरक्षालाई ध्यानमा राखी यस्तो कदम चालिएको हो।
“सडक अवस्था अत्यन्तै जोखिमपूर्ण भएकाले हामीले यात्रुहरूलाई माइकिङ गरेर जानकारी गराइरहेका छौं,” अधिकारीले बताए। बिहानैदेखि लगातार अवरुद्ध सडकका कारण यात्रुहरूलाई यात्रा नगर्न आग्रह गर्दै ट्राफिक प्रहरीले सचेतना अभियानसमेत सञ्चालन गरिरहेको छ।