काठमाडौँ, तमोर नदिमा गाडी खसेको खबर प्राप्त भएको छ । पाँचथरको फिदिमनजिक रहेको तमोर नदीमा गाडी खसेको पाइएको हो । केहीबेरअघि गाडी नदीमा खसेको र ठूलो हताहती भएको आशंका गरिएको छ । पाँचथर प्रहरीले बस नदीमा खसेको खबर आएपछि सुरक्षा टोली त्यसतर्फ प्रस्थान गरेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरलाई प्राप्त प्रारम्भिक जानकारी अनुसार कुम्मायक गाउँपालिका वडा नम्बर ३, कार्तिके भन्ने स्थानमा गाडी दुर्घटना भएको हो ।
प्रहरीका अनुसार, दुर्घटनाको खबर प्राप्त भएपछि घटनास्थलतर्फ प्रहरी टोली पठाइएको छ । जिल्लाबाट पनि थप टोली जाँदै गरेको एक प्रहरी अधिकृतले जानकारी दिए । युवा अभियन्ता सागर ढकालले उद्धारका लागि आह्वान गरेका छन् ।
उनले लेखेका छन,
"इमर्जेन्सि परेको छ , म भन्दा अगाडिको गाडि खसेर धेरैको ज्यान गएको छ। सबैले सकेको छिटो हेलिकप्टर एम्बुलेन्स वा गाडिहरु छिटो भन्दा छिटो पठाइदिनुस न है। तमोर नदि नजिक हो है,, कार्तिके नजिक । फिदिम नजिक। छिटो भन्दा छिटो सहयोग गरिदिनुस है वरिपरि भएका जो हुनुहुन्छ । भन्दै लेखेका छन । प्रत्यक्षदर्शीका अनुसार, दुर्घटनामा ठूलो संखयामा मानवीय क्षति भएको हुनसक्ने आकलन गरिएको छ । हिजदेखि निरन्तर भैरहेको बर्षाले यतिबेला जनजीवन कष्टकर बनेको छ । देशका विभिन्न सडकहरु अवरुद्ध बनेका छन । केही घन्टा देखि भैरहेको निरन्तर वर्षाले धेरै सडकहरु अबरुद्ध बनेका छन । धेरै सडक अवरुद्ध हुँदा यात्रुहरु बाटोमै अलपत्र परेका छन भने विभिन्न सडकहरुमा पहिरो खस्ने क्रम जारी रहेको छ ।"
आज बेलुकादेखि भोलि बिहानसम्म अति भारी वर्षात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमल राम जोशीले चार प्रदेशका तटीय क्षेत्र बाढीको उच्च जोखिममा पर्नसक्ने जानकारी दिएका छन्। ‘नेपालको मध्यभागबाट मनसुन प्रवेश गरेको अवस्था छ।
यसले विशेष गरेर आज बेलुका ७–८ बजेदेखि भोलि बिहान ८ बजेसम्म त्यसमा पनि विशेष गरी राति १० देखि बिहान २ बजेसम्म अतिभारी वर्षात्को सम्भावना छ’, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आयोजना गरेको बैठकमा उनले भने, ‘त्यसकारण सबैलाई सचेत रहन बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा रहेका नदी किनारमा बस्ने बासिन्दा र यात्रुलाई सावधानी अपनाउन अनुरोध छ।’ २४ घण्टामा २०० एमएल पानी पर्ने सम्भावना रहेको उनले बताए।