काठमाडौँ, केही घन्टा देखि भैरहेको निरन्तर वर्षाले धेरै सडकहरु अबरुद्ध बनेका छन । धेरै सडक अवरुद्ध हुँदा यात्रुहरु बाटोमै अलपत्र परेका छन भने विभिन्न सडकहरुमा पहिरो खस्ने क्रम जारी रहेको छ । निरन्तर वर्षा भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज (शनिबार) देखि ३ दिनसम्मका लागि लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। शनिबार बिहान अत्यन्त जरुरी सूचना जारी गरी प्राधिकरणले कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारीसाधन आवतजावत आज असोज १८ देखि २० गतेसम्मका लागि बन्द गरिएको जानकारी दिएको हो।
सूचनमा भनिएको छ, ‘लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारीसाधन चलाउन रोक लगाइएका कारण यात्रु महानुभावहरूमा पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी हुँदै सो अवधिमा अत्यावश्यकबाहेक यात्रा नगर्न, सुरक्षित तरिकाले घरमै बस्न र विपद्सम्बन्धी आधिकारिक र अद्यावधिक सूचना तथा जानकारीहरू रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतबाट प्राप्त गर्नु हुनसमेत सूचित गरिन्छ।’मौसम विभागले यस अघि नै दशैँ पछि ठुलो बर्षा हुने भन्दै सर्तकर्ता अपनाउन आग्रह गरेको थियो ।
निरन्तरको बर्षाले विभिन्न राजमार्गहरु पनि अवरुद्ध बनेका छन । यता काठमाडौंबाट बाहिरिन खोजेका सवारी साधनहरुलाई नागढुंगा चेकपोष्टबाट प्रहरीले फर्काएको छ । आज विहानै बाट नागढुंगा–मुग्लिन सडम अवरुद्ध बनेपछि सवारीसाधनहरु फर्काएको प्रहरीको भनाई छ । प्रहरीले माइकिङ गरेर धादिङतर्फ पहिरो खसेको र तत्काल खुलाउन सक्ने अवस्था नरहेको भन्दै अगाडि नबढ्न अनुरोध गरेको थियो । त्यसपछि नागढुंगा चेकपोस्टमा रोकिएका गाडीहरु काठमाडौं फर्कन थालेका हुन् ।
नागढुंगा ट्राफिक प्रहरी चेकपोस्टका अनुसार बिहान साढे ९ बजे यो समाचार तयार पार्दासम्म करिब २ सय गाडी काठमाडौं फर्किसकेका छन् । शनिबार बिहानबाटै नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेकाले यात्रा नगर्न अनुरोध गर्दै प्रहरीले माइकिङ गरिरहेको छ । ट्राफिक प्रहरीले अगाडि बढ्न नदिई काठमाडौं फर्कन गरेको सोही अनुरोधलाई मान्दै यात्रुहरु फर्किन थालेका हुन् । अनुरोध मानेर गाडी चालक र यात्रुहरु फर्किएकोमा प्रहरीले कृतज्ञता व्यक्त गरेको छ । ‘हाम्रो अनुरोध सुनेर फर्कनुभएका सम्पूर्ण यात्रु, चालक÷सहचालक सबैमा हार्दिक कृृतज्ञता व्यक्त गर्न चाहन्छौँ,’ माइकिङमा भनिएको छ, ‘तपाईंको सुरक्षा हाम्रो जिम्मेवारी ।’