काठमाडाैं, १०५ घण्टासम्म पटक–पटक अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड अन्ततः गएरातिदेखि सामान्य रूपमा सञ्चालनमा आएको छ।
शुक्रबारदेखि लगातार पहिरो खसिरहेकै स्थान – तुइन खोला – मा पहिरो पन्छाएपछि बिहीबार राति ११:३५ बजे बाट सडक दुईतर्फी रूपमा खोलिएको डिभिजन सडक कार्यालय, चितवनका प्रमुख नारायण लामिछानेले जानकारी दिए।
लामिछानेका अनुसार अहिले तत्काल थप पहिरो खस्ने सम्भावना देखिएको छैन, तर पूर्ण रूपमा जोखिममुक्त भन्न नसकिने भएकाले सावधानी अपनाउनुपर्ने बताए।
“सानातिना पहिरो खस्दा तत्कालै हटाउन सकिने अवस्था छ,” उनले भने, “नाम्सीमा अड्किएका ढुङ्गाहरू खसेपछि त्यहाँ पनि तत्काल खतरा देखिएको छैन। अहिले सडक सामान्य रूपमा प्रयोग गर्न मिल्ने भए पनि झरी र घामको असरले सधैं जोखिम रहन्छ। यात्रुहरू सतर्क रहनु आवश्यक छ।”
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले रातभरि रोकिएका सबै सवारी साधन गन्तव्यतर्फ पठाइएको जानकारी दिए। ठूलो पहिरो भए पनि अपेक्षाभन्दा छिटो सफा गर्न सकिएको उनले बताए।
उनले अहिले चितवन हुँदै हुने सबै सडकहरू सञ्चालनमा रहेको र यात्रु तथा मालवाहक गाडीहरूका लागि मार्ग खुला भएको जानकारी दिएका छन्।