काठमान्डौ, मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलामा खसेको सुक्खा पहिरो पन्छाउने काम बुधबार बिहानदेखि सुरु गरिएको छ। बिहान ६ बजेदेखि सडकका दुवैतर्फ २/२ वटा गरी ४ वटा डोजर प्रयोग गरी पहिरो हटाउने प्रयास जारी छ।
सडक डिभिजन भरतपुरका सूचना अधिकारी कृष्णप्रसाद आचार्यका अनुसार अहिलेसम्म करिब ६० मिटर मात्रै पहिरो पन्छाइएको छ। मंगलबार अपराह्न खसेको पहिरोले १६० मिटर सडक क्षेत्र पुरेको छ भने २० मिटर अग्लो पहाड जस्तो थुप्रो बनेको छ।
उक्त स्थानमा ६ वटा उपकरण भए पनि एकैपटक दुईभन्दा बढी चलाउन जोखिमपूर्ण भएकाले ४ वटामात्र प्रयोग भइरहेको हो। पहिरोमा ठूला ढुंगा भेटिएकाले काम थप जटिल भएको अधिकारीले बताए।
डोजर चालक कमलेश चौधरीका अनुसार यदि मौसम अनुकूल रह्यो र थप पहिरो नखस्यो भने पर्सिसम्म सडक खुल्न सक्ने सम्भावना छ। उनले जोखिम मोलेर यात्रुहरूको पीडा कम गर्न आफूहरू दिनरात नभनी खटिएको बताए।
चितवन प्रशासनले मुग्लिन-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकहरूलाई अनुरोध गरेको छ। वैकल्पिक रूपमा हेटौंडा, खैरेनीटार, बर्दिवास, बुटवल, कावासोती लगायतका मार्ग सुझाइएको छ।