Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठमाडौं छाड्नेको संख्या बढ्दो, पाँच दिनमा झण्डै दुई लाख

काठमाडौं छाड्नेको संख्या बढ्दो, पाँच दिनमा झण्डै दुई लाख

काठमाडाैं, दसैंको अवसरमा घर फर्किने यात्रुको संख्यामा तीव्र वृद्धि भएको छ। काठमाडौं उपत्यकाबाट पछिल्ला पाँच दिनमा मात्र करिब १ लाख ८९ हजारभन्दा बढी यात्रु बाहिरिएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, असोज १ गतेदेखि ५ गतेसम्म २९ हजारभन्दा बढी सार्वजनिक सवारी साधनमार्फत १ लाख ८९ हजार २१८ यात्रु उपत्यका छोडेका हुन्। अधिकांश यात्रुहरू थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट बाहिरिएका छन्। प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले अध्ययन, व्यवसाय र रोजगारीका लागि उपत्यकामा बसोबास गरिरहेका नागरिकहरू दसैं मनाउन आफ्ना गृह जिल्लातर्फ जान थालेको जानकारी दिएका छन्।

पाँच दिनको अवधिमा दैनिक रूपमा यात्रु बाहिरिने संख्या फरक-फरक देखिएको छ। असोज १ गते ३४,५५६, असोज २ गते ३६,१००, असोज ३ गते ४०,५५५, असोज ४ गते ३४,८७९ र असोज ५ गते ४३,१२४ यात्रु उपत्यकाबाट बाहिरिएका थिए। तर यात्रुहरूको यात्रा भने सजिलो छैन। नेपालका प्रमुख राजमार्गहरूमा बर्खाका कारण पहिरो जाँदा गाडीहरू लामो समयसम्म बाटोमै रोकिएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमका अनुसार विशेष गरी मुग्लिन–नारायणघाट सडकखण्डमा पहिरोले गर्दा बसहरू घन्टौं अलपत्र परिरहेका छन्, जसले यात्रुहरूलाई गन्तव्यमा समयमै पु¥याउन समस्या भइरहेको छ। उनले सरकारलाई राजमार्ग तत्काल खुलाउने पहल गर्न आग्रह गरेका छन्।

यसैबीच, राजधानीको मुख्य बसपार्क—नयाँ बसपार्क (गोङ्गबु)—बाट पनि यात्रुहरूको चाप उल्लेखनीय रूपमा बढेको छ। बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार, सामान्य अवस्थामा जहाँ दैनिक ४–५ हजार यात्रु मात्र बाहिरिन्थे, अहिले त्यो संख्या बढेर १५ हजार नाघेको छ। दसैं नजिकिँदै जाँदा उपत्यका छाड्ने यात्रुको संख्या अझै बढ्ने अनुमान गरिएको छ।