काठमाडौँ । अस्ति शुक्रवार बेलुकीदेखि अवरुद्ध भएको मुग्लिन–नारायणगढ सडक अझै खुलेको छैन । दशै मनाउन गाउघर हिडेका यात्रुहरु दुइदिन देखी बाटोमै अलपत्र परेका छन । कोही गाडीमै र कोही सडकमै सुतेका छन् । धेरै यात्रु भोकै बस्न बाध्य छन् । पहिरो ठूलो भएकाले खुल्न समय लाग्नेछ । सडक खुल्न नसक्दा अस्ति बेलुकीदेखि नै गाडी सडकमै रोकिएका छन् । राजमार्गको दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।
गन्तव्यमा हिँडेका सयौं यात्रु दुई रातसम्म सडकमै अलपत्र परेका छन् ।अहिले पहिरो पन्छाउने काम आज बिहानैदेखिसुरु गरिएको छ । मेसिन परिचालन गरी पहिरो पन्छाउने कार्य सुरू भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।यद्यपि ढुंगा झर्ने क्रम अझैसम्म पनि रोकिएको छैन । चितवनको इच्छाकामना गाउँपालिकास्थित तुइन खोलानेर शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ ।
जिल्ला प्रशासन कार्यालय र प्रहरीले अलपत्र यात्रुहरूलाई शनिबार दिउँसो र बेलुकी पानी र खानाको व्यवस्था गरेको थियो । राजमार्गमा भएका व्यवसायीहरूलाई पनि अलपत्र यात्रुको सहजीकरणका लागि अपिल गरिएको थियो । मुग्लिन नजिकै पर्ने तुईन खोलामा फराकिलो पुल बनाउन पहाड काटेको ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय भरतपुरले सकेसम्म वैकल्पिक बाटोको प्रयोग गर्न र लेन अनुशासन पालना गर्न आग्रह गरेको छ । कार्यालयका अनुसार मुग्लिन सडकको विकल्पमा नौबिसे–दामन–हेटौंडा र कालिगण्डकी करिडोरको मुग्लिन–भिमाद–डेढगाउँ–गैंडाकोट सडक प्रयोग गर्न सकिनेछ । पहिरो पन्छाउनका लागि मुग्लिनतर्फबाट तीन वटा र नारायणगढबाट दुई वटा साधन परिचालन गरिएपनि आज साँझ ६ः३० बजे पुनः पहिरो खसेपछि काम रोकिएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालय प्रमुख लामिछानेका अनुसार आइतबार बिहान पुनःपहिरो पन्छाउने गरी आजका लागि काम रोकिएको हो । शुक्रबार साझ ६ः०० बजेदेखि गएको पहिरोका कारण अलपत्र परेका यात्रुलाई जिल्ला प्रशासन कार्यालयको सक्रियतामा आज खाद्यान्न सहयोग गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहित सुरक्षा निकायका प्रमुखको उपस्थितिमा यात्रुहरूलाई भूजा, चिउरा, बिस्कुट, चाउचाउ, पानीलगायत खाद्यान्न वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार एक हजार ५०० यात्रुलाई पुग्ने खाद्यान्न वितरण गरिएको छ । आफ्नो कार्यक्षेत्रभित्र रहेर सडकमा अलपत्र रहेका यात्रुलाई खाद्यान्न सहयोग गरिएको उनले बताए । यस सडक भएर गुड्ने सवारीसाधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले आग्रह गरेको छ । थप पहिरो नखसेमा आइतबार मध्यान्नसम्ममा सडक सञ्चालन गर्न सकिने प्रजिअ अर्याले अनुमान गरे ।