काठमाडौं, पछिल्लो तीन दिनदेखि परेको लगातारको वर्षाले बुटवल हुँदै बग्ने तिनाउ नदीको जलस्तर उल्लेखनीय रूपमा वृद्धि भएको छ। यसले नदी किनारका बस्तीहरूमा बाढीको खतरा बढाएको छ।
तिनाउ नदीको उद्गम स्थल रहेको पाल्पा जिल्लामा मंगलबार रातिदेखि झनै तीव्र रूपमा वर्षा भइरहेको छ। त्यसको प्रत्यक्ष असरस्वरूप तिनाउमा बाढी आएको छ र बुधबारको जलस्तर यस वर्षकै सबैभन्दा उच्च विन्दुमा पुगेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।
प्रहरीका अनुसार तिनाउ नदी वरपर रहेका पुरानो बसपार्क, सुन्दरनगर, मजुवा, बिनापाते, हात्तिसुढ, माझगाउँ लगायतका बस्तीहरूमा सयौं परिवार बाढीको उच्च जोखिममा छन्। यस्ता क्षेत्रमा प्रत्येक वर्ष मनसुनको समयमा डुबान र बाढीको सम्भावना रहँदै आएको छ।
विशेषगरी पाल्पा र सिद्धबाबा क्षेत्रमा एक्कासी ठूलो पानी परेपछि तिनाउको वहाव तीव्र गतिमा बढ्ने गरेको छ। यही क्रम अहिले पनि देखिएको प्रहरीले जनाएको छ।
बुधबार पनि बुटवल र आसपासका क्षेत्रमा वर्षा जारी रहेको र दिनभर थप वर्षा हुन सक्ने अनुमान गरिएको छ। त्यसैले नदी किनारका बासिन्दाहरूलाई सतर्क रहन, सुरक्षित स्थानमा जान र आवश्यक सावधानी अपनाउन स्थानीय प्रशासन र सुरक्षाकर्मीहरूले अनुरोध गरेका छन्।
हालसम्म बुटवल तथा वरपरका क्षेत्रमा बाढीका कारण कुनै मानवीय वा भौतिक क्षति भएको विवरण आएको छैन। अवस्था नियन्त्रणमै रहेको जनाउँदै, प्रहरी र सरोकारवाला निकायहरूले स्थिति माथि निगरानी बढाएका छन्।