Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज देशभर विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

आज देशभर विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

 

काठमाडौं  । आज देशभर विभिन्न स्थानमा विधिपूर्वक विश्वकर्मा भगवानको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा मनाइँदैछ। यस अवसरमा कालीगढ, निर्माणकर्मी, इञ्जिनियर, शिल्पकार लगायतले आफ्नो काममा प्रयोग हुने उपकरण, औजार, मेसिन, सवारीसाधन आदिको विशेष पूजाआजा गरी भगवान विश्वकर्माको स्मरण गर्दै श्रद्धा प्रकट गरेका छन्। विशेषगरी कलकारखाना, वर्कसप तथा निर्माण स्थलहरूमा बालुवाको मूर्ति वा भगवान विश्वकर्माको तस्बिर स्थापना गरेर विधिपूर्वक पूजा गरिन्छ।

धार्मिक विश्वास अनुसार, यस दिन औजार तथा उपकरणको पूजा गरेमा तिनमा दीर्घायु, मजबूती र कुशल कार्यक्षमता प्राप्त हुने विश्वास गरिन्छ। यसका साथै बालुवा वा अन्य सामग्रीबाट बनाइएका भगवान विश्वकर्माका मूर्ति सुन्दरीजलस्थित बागमतीको मुहानस्थल वा अन्य शुद्ध जलाशयहरूमा लगेर विसर्जन गर्ने परम्परा पनि छ।

वास्तुशास्त्रका विशिष्ट ज्ञाता मानिने विश्वकर्माको सम्झनामा यो दिनलाई वास्तु दिवस का रूपमा समेत मनाउने गरिन्छ। वास्तुशास्त्री शिव पोखरेलका अनुसार, भगवान विश्वकर्माले ‘विश्वकर्मा प्रकाश’ नामक प्राचीन वास्तुशास्त्र ग्रन्थको रचना गर्नुभएको विश्वास गरिन्छ। सोही सम्झनामा नेपालका वास्तुविद्हरुले पनि आजको दिनलाई विशेष महत्वका साथ मनाउने चलन बढ्दो छ। यसरी आजको दिन सृजनात्मकता, श्रम, सीप र वैज्ञानिक चिन्तनलाई सम्मान गर्ने दिवसको रूपमा देशभर विभिन्न कार्यक्रम, पूजाआजा र सांस्कृतिक गतिविधिमार्फत मनाइँदैछ।