Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज बागमती र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने,पहाडी र तराईका ठाउँहरूमा मध्यम वर्षा

आज बागमती र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुने,पहाडी र तराईका ठाउँहरूमा मध्यम वर्षा

कञ्चनपुर,कञ्चनपुर जिल्लामा पछिल्लो १२ घण्टामा लगातार भारी वर्षा भएको छ। दोधारामा मात्र १७९ मिलिमिटर पानी मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जोगबुढा (मायापुरी) जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेकाले नदी किनार क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

महाशाखाका अनुसार आज बागमती र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। कोशी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी पहाडी र तराई भूभागका थोरै ठाउँहरूमा मध्यम वर्षाको पूर्वानुमान गरिएको छ।

रातिको समयमा पनि सुदूरपश्चिम प्रदेशका केही ठाउँ, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी क्षेत्र तथा बाँकी तराईका एक-दुई स्थानमा मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

गएराति कञ्चनपुरसँगै कास्की र ताप्लेजुङमा पनि भारी वर्षा भएको छ। त्यस्तै, डडेलधुरा, बागलुङ, म्याग्दी, चितवन, सिन्धुपाल्चोक, दोलखा, डोटी लगायत स्थानहरूमा मध्यम वर्षा भएको महाशाखाले जनाएको छ।

बाढी र पहिरोको सम्भावना भएकाले नदी आसपास तथा पहाडी क्षेत्रका बासिन्दालाई सजग रहन, स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरिएको छ।