Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

निगुरो बिक्रीबाट परिवारको खर्च जुटाउँदै

निगुरो बिक्रीबाट परिवारको खर्च जुटाउँदै

सुनसरी । बराहक्षेत्र नगरपालिका–१० प्रकाशपुरकी सरिता उराँव जङ्गलमा पाइने निगुरो टिपेर बेचेको आम्दानीबाट आफ्ना छोराछोरीको पढाइदेखि घरखर्चसम्म धान्दै आएकी छिन् ।

दिनमा रु तीन सयदेखि रु सात सयसम्मको निगुरो बिक्री गर्ने उराँवले यसबाट दुई छोराछोरीको विद्यालय खर्च, खाजा खर्चका साथै घरमा दैनिक प्रयोग गरिने नुनतेल किन्नेदेखि लिएर दैनिक आवश्यकता पूरा गर्ने गरेको बताइन् ।
 
 
उनका अनुसार धेरै सङ्कलन भएको दिन इटहरी, इनरुवा, झुम्कालगायतका व्यापारीले आएर लैजाने गरेका छन् भने थोरै भए बाटो हिँड्नेले नै खरिद गर्ने गरेको उनले बताइन् । सङ्कलन गरेको निगुरो सानो मुठा रु २० मा बिक्री हुने गरेको छ भने अलिक ठूलो मुठा रु ५० मा बिक्री हुने गरेको उनले बताइन् । तीन वर्ष अगाडिदेखि निगुरो बेच्न सुरु गर्नुभएको उराँवले दसैँ, तिहारको समयमा भने बढी आम्दानी हुने गरेको बताइन् ।
दसैँतिर धेरै मानिस घरायसी काममा व्यस्त हुने भएकाले जङ्गल जान पाउँदैनन् । त्यो समयमा भने निगुरो टिप्न सजिलो हुने उनले बताए । दसैँ तिहारको आधा खर्च यही निगुरो बिक्रीबाटै जुटाउँछु, निकै सहयोग पुग्छ मलाई । उराँवका अनुसार जङ्गलबाट टिपेर ल्याइने निगुरो पूर्ण अर्ग्यानिक हुने भएकाले स्वादिलो मात्र नभई स्वास्थ्यका लागि लाभदायी पनि हुन्छ । जति धेरै टिपे पनि बिग्रने चिन्ता हुन्न, सबै बिक्री भइहाल्छ । उनले भनिन्, “अहिलेको सिजनमा बारीमा सागसब्जी रोपेर बेच्नुभन्दा निगुरो टिपेर बेच्दा धेरै फाइदा हुन्छ ।”

उनले चैतदेखि असोज, कात्तिकसम्म निगुरो टिप्ने मौसम हुने बताइन् । यसैबाट छोराछोरीको स्कुलको खाजा खर्च, नुनतेलदेखि लिएर कहिलेकाहीँ बजार जाने खर्चसमेत पुग्ने बताइन् ।

बराहक्षेत्र क्षेत्रमा सरिता उराँवजस्ता धेरै परिवारका लागि जङ्गलबाट निगुरो सङ्कलन गरी आयआर्जनको प्रमुख स्रोत बनेको छ । जङ्गलमा पाइने यस्ता अर्ग्यानिक वनस्पतिले सिजनअनुसार स्थानीय महिलालाई आत्मनिर्भर बनाउन सहयोग पुर्‍याएको छ । रामधुनी मन्दिर नजिकैको सडकमा बिहान निगुरो बेच्ने एक दर्जनभन्दा बढी महिलाहरू भेटिन्छन्, उनीहरू निगुरो बेचेरै घरखर्च टार्ने गरेको बताउँछन् ।