काठमाडौ । कतै केही प्रहरीहरु साच्चिकै प्रहरी मेरा साथी नाराका साथ नागरिकहरुको सेवा गरि चर्चामा छन । कतै भने केही प्रहरीको हर्कत प्रहरी मेरो साथी भन्ने तर नागरिकको टाउकोमा रडमाथि भने जसरी लाग्दा सिंगो संगठनमा बदनाम भएको छ । चितवन सौराहामा एक प्रहरीले रक्सीले मातेर मध्यरातमा सडकमा हिडिरहेका एक युवकलाई निर्घात कुटपिट गरेको खबर बाहिरिएको छ ।
बर्थ डे पार्टीबाट रक्सी खाएर मध्यरातमा सौराहाको सडकमा मात्तिएर हिँडेका प्रहरी हवल्दारले होटलको ड्यूटी सकेर घर फर्किएका युवालाई निर्घात कुटेका छन् । चित्रसारी प्रहरी बीटमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार जीवन महतले होटलमा काम गरेर घर फर्किएका कर्मचारीमाथि रडै रडले हानेका घटना बाहिरिएको हो । गत होटलमा काम गरेर साथीसँगै घर फर्किँदै गरेका बालेश्वर चौधरीले चलाएको मोटरसाइलमा चालकको टाउको ताकेर हवल्दार महतले हानेका थिए । ना ४५ प ५९३८ नम्बरको मोटरसाइकलमा घर फर्किएका चौधरीको पछाडि एउटै होटलमा काम गर्ने साथी २६ वर्षका सन्देश दाहाल बसेका थिए ।बर्थ डे पार्टीमा खाएको रक्सीले मातेर सौराहाको सडकमा हल्ला गर्दै हिँडेका प्रहरी हवल्दार महतले चलिरहेको मोटरसाइलका चालकलाई ताकेर हानेको रड चालक चौधरीले टाउको निहुराएपछि पछाडि बसेका दाहालको अनुहारमा जोडले लाग्यो । उनी रगताम्य भए । चालकले मोटरसाइकल थाम्न नसकेपछि मोटरसाइकल पल्टियो र दाहालको शरीरमा मोटरसाइकल पर्यो ।
रडले मुखमा लागेपछि नाक, आँखा जताततै उनलाई चोट लागेको छ ।
सादा पोशाकमा रहेका हवल्दार महतले अझ ताकेर रड प्रहार गर्न लागेपछि चौधरीले उनको हर्कत देखिने गरि भिडियो समेत खिचेका पनि थिए । घाइते दाहालको गम्भीर अवस्थामा आइसियूमा उपचार गरेपछि अहिले आइसियू बाहिर निकालिएको छ, तर उनको अवस्था अझै गम्भीर रहेको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन् । घाइते दाहाल र चौधरी कार्यरत रिभर सन रेष्टुरेन्टका सञ्चालक नविन श्रेष्ठले आफ्नो रेष्टुरेन्टमा कार्यरत दुबै जना अहिलेसम्म झैझगडामा नलाग्ने र मादक पदार्थ पनि सेवन नगर्ने कर्मचारी रहेको बताए । उनले नागरिकको सुरक्षा गर्नुपर्ने प्रहरी स्वयंले मध्यारतमा मादक पदार्थ सेवन गरी स्थानीयलाई आतंकित पर्ने काम गरेको भन्दै पीडितहरुलाई न्याय दिनुपर्ने माग गरे । तीन दिनसम्म आफूले निर्दोश होटल कर्मचारी कुटेको स्वीकार नगरेका महतले आफूले नै कुटेको पनि स्वीकार गरेका छन् ।
स्रोतका अनुसार आफूसँग लफडा गर्ने अन्य तीन जनाको ग्याङ भएको अनुमानमा दुई जना निर्दोश होटल कर्मचारी कुटेको उनले स्वीकार गरेका हुन् । यस सम्बन्धमा चितवनका प्रहरी प्रमुख एसपी गोविन्द पुरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए । उनले प्रहरी कर्मचारी नै मादक पदार्थ सेवन गरी कुटपिट गरेको भन्ने रिपोर्टिङ आफूलाई पनि आएको यसबारेमा अनुसन्धान गरेर विभागीय कारबाही गरिने उनले बताए ।