Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मङ्सिरमा बाघ र गैँडा गणना हुने

मङ्सिरमा बाघ र गैँडा गणना हुने

चितवन । गत आर्थिक वर्षमा अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको गैँडा गणना यस वर्ष गरिने भएको छ । यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले कार्यक्रममा केही बजेट विनियोजन गरेर गणना गर्न लागिएको हो ।

विभागका महानिर्देशक डा।रामचन्द्र कँडेलका अनुसार बाघ भने हरेक चार–चार वर्षमा गणना गरिँदै आएको छ । सोहीअनुसार यस आर्थिक वर्षमा बाघ गणना गरिने छ । उनका अनुसार मङ्सिरमा बाघ गणना सुरु गरिँदैछ । करिब तीन महिना बाघ गणना गर्न समय लाग्ने उनले बताए । एक सिङ्गे गणना चैत महिनामा गर्ने गरी कार्यक्रम अघि बढाइएको छ । गैँडा गणना गर्न एक महिना लाग्दछ ।

गैँडा चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गणना गरिने छ । बाघको गणना पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटामा गरिन्छ । बाघ गणनाका लागि चालु आर्थिक वर्षको बजेटमा विभागले रु १८ लाख रकम विनियोजन गरेको छ यसका लागि रु एक करोड ५० लाखभन्दा बढी खर्च हुने गर्दछ । कँडेलले गैँडा गणनाका लागि रु १८ लाख नै विनियोजन गरेको बताए । गैँडा गणना गर्न रु दुई करोड बढी खर्च लाग्ने गर्दछ । बाँकी रकमका लागि दातासँग सहयोग मागिने भएको छ ।

यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३३५ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । सो गणनामा चितवनमा १२८, बर्दिया निकुञ्जमा १२५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेको तथ्याङ्क छ ।