Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देशभर मनसुनी गतिविधि सक्रिय, पहाडी र तराई भूभागमा भारी वर्षाको सम्भावना

देशभर मनसुनी गतिविधि सक्रिय, पहाडी र तराई भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुन सक्रिय बन्दै गएको सन्दर्भमा आज दिउँसो र राति विभिन्न भूभागमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित छ भने बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव समेत सक्रिय बन्दै गएको छ।

आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा सामान्यतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदलीको सम्भावना छ। विशेषगरी वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति देशभर सामान्यतया बदली हुने अनुमान गरिएको छ। देशका पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा र गण्डकी, कर्णाली, सुदूरपश्चिमका पहाडी क्षेत्र तथा लुम्बिनी र कोशी प्रदेशका तराई भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ।

महाशाखाले भारी वर्षाका कारण पहिरो को जोखिम रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, र यातायात क्षेत्रमा समेत असर पर्न सक्ने भएकाले पूर्वतयारीसहित सतर्क रहन महाशाखाले सबैलाई अनुरोध गरेको छ।