काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू–भागमा साधारण बदली र बाँकी भू–भागमा आंशिक बदली हुने जनाएको छ।
महाशाखाका मौसमविद् गोविन्द झालेका अनुसार दिउँसोतिर कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू–भाग तथा तराईका करिब आधा स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। तर आज देशभर कतै पनि ठूलो पानी पर्ने सम्भावना भने छैन।
रातिको समयमा कोशी, बागमती, गण्डकी र मधेश प्रदेशका विभिन्न क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुने महाशाखाले अनुमान गरेको छ।
यद्यपि आज ठूलो वर्षाको जोखिम नरहे पनि भोलि र पर्सि देशका केही ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।