काठमाडौँ । आज नेपालभर हरितालिका तीज पर्व धुमधामका साथ मनाइँदैछ । भाद्र शुक्ल तृतीयामा बसिने यस व्रतमा महिलाहरूले भगवान् शिवको पूजा–उपासना गरी पारिवारिक सुख, शान्ति र कल्याणको कामना गर्ने धार्मिक परम्परा रहिआएको छ ।
हिजो दर खाएर औपचारिक रूपमा सुरू भएको तीज पर्व पर्सि ऋषि पञ्चमीसम्म निरन्तर चल्नेछ । तीजको दिन बिहानैदेखि देशभरका शिवमन्दिरहरूमा भक्तजनको घुइँचो लागेको छ । महिलाहरू रातो र हरियो पहिरनमा सजिएर व्रत बस्दै, पूजा–आराधना र नाचगान गर्दै तीज मनाइरहेका छन् ।
महिलाको सहभागिता र श्रद्धा विशेष हुने यो पर्वलाई मध्यनजर गर्दै सरकारले आज सार्वजनिक बिदा दिएको छ ।