Shares
Shares
काठमाडौँ । नेपाली गीत सङ्गीतमा ‘र्याप’ ले छुट्टै स्थान बनाइसकेको छ । भनिन्छ, ‘र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ ।’
लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने सदाबहार विधा हुन् । यद्यपि नयाँ पुस्ता र्यापतर्फ उत्तिकै आकर्षित छन् । र्यापलाई ‘एक्सप्रेस योर सेल्फ’ भन्ने गरिन्छ । र्यापले आफ्नो भोगाई र समाजको देखाई व्यक्त गर्ने र्यापरहरु बताउँछन् ।
पछिल्लो समय नेपाली र्याप र र्यापरको चर्चा अन्तर्राष्ट्रिय स्तरमा हुन थालेको छ । विदेशी र्यापरले नेपाली र्यापरको चर्चा गरेपछि यसप्रतिको आकर्षणबारे अनुमान गर्न सकिन्छ । सीमित समूहमा रहेको र्यापको चर्चा अहिले अन्तर्राष्ट्रियस्तरसम्म पुगेको छ । पछिल्लो समय र्यापको सुनौलो युग आएको र्यापर गिरिश खतिवडा बताउँछन् ।
“हामी कलाकारका लागि र्याप एउटा थेरापी जस्तै हो, मनको कुरा पोख्न पाएका छौँ । र्यापले गाउँको समस्या सहरसम्म र सहरको समस्या गाउँसम्म बुझाएको छ, किनकि म आफैँ सहरमा बस्न थालेपछि गाउँलाई र्यापमार्फत चिन्ने गरेको छु”, र्यापर खतिवडाले भने ।
अन्य माध्यमको तुलनामा सजिलै भावना व्यक्त गर्न सकिने माध्यम र्याप रहेको उनको बुझाइ छ ।
अर्का र्यापर मानस घलेले नयाँ पुस्तामा र्यापप्रति बढेको आकर्षणले सङ्गीतमा छुट्टै स्थान बनाउन सफल भएको बताए । “हामीले र्यापलाई नेपालभर लग्ने प्रयास गरेका थियौँ तर अहिलेको पुस्ताले यसलाई अन्तर्राष्ट्रियकरण गरेको छ । नेपाली भाषा नबुझ्ने पनि हाम्रो स्रोता बन्नुभएको छ । अहिले र्याप गाएरै जीविकोपार्जन गर्न सकिन्छ”, उनले भने ।
र्यापरप्रति सामाजिक धारणा फेरिएकै कारण काठमाडौँ महानगरपालिकाले र्यापर बालेनलाई प्रमुखको रूपमा पाएको उनले बताए । पछिल्लो समय नवोदितसँगै पुराना र्यापरको माग स्टेज कार्यक्रममा बढ्दो छ । नेपाल मात्र नभई विदेशमा उत्तिकै लोकप्रिय छन्, र्यापर । यद्यपि र्यापलाई बदनाम गर्नेको कमी नरहेको र्यापर हाकिमले बताए ।
“र्याप भनेको भावना व्यक्त गर्ने भएकाले यसमा बन्देज हुँदैन, त्यसकारण हामीले मनमा लागेको शब्दलाई कुनै फिल्टर नगरी बाहिर ल्याउँछौँ । तर, यो भन्दैमा अश्लीलतालाई प्रवर्द्धन गरेका भने होइनौँ । जसले अश्लील, अपाच्य शब्दकै सहारामा मात्र र्याप बनाउने गरेका छन्, ती चर्चाका लागि मात्र आएका हुन् । किनकि र्यापमा वेदना, भोगाइ र बुझाइ हुन्छ”, हाकिमको भनाइ छ ।
अहिले र्यापको अवस्था नेपालमा राम्रो देखिनु खुसीको कुरा रहेको र र्यापरले परिवेश र भविष्य हेर्ने भन्दा आफ्नो भावना व्यक्त गर्ने र्यापर खतिवडा बताउँछन् । “हामीले र्याप हान्ने हो, आफूलाई व्यक्त गर्ने हो । यसको भविष्य के होला, वा हाम्रो स्कोप कस्तो छ भनेर सोच्ने होइन । र्यापले मलाई खुसी र सन्तुष्टि दिएको छ, त्यही भएर म अहिलेसम्म सक्रिय छु”, उनले भने ।
उनले र्यापमा आएको परिवर्तन र नयाँ पुस्ताको भोगाइलाई आफूले गीतमार्फत थाहा पाउने बताए । यसका लागि उनी नयाँ र्याप सुन्छन् । अर्का र्यापर घलेले अहिले विभिन्न रियालिटी सोहरू निर्माण भइरहेकाले र्यापमा भविष्य खोज्नेलाई सहज भएको बताए।
र्यापर हाकिमले ‘जी–बब’ जस्ता र्याप ‘रियालिटी शो’ मार्फत आएको बताए । उनीसहितको टिमले विभिन्न शो गर्ने गरेको छ । “अहिले नेपाल मात्र नभई विदेशमा हुने कार्यक्रममा सहभागिता जनाउन सके र्यापका लागि उत्तम समय छ । आउँदो दिन झनै राम्रो देखिएको छ । अहिले र्यापलाई लिएर सामाजिक धारणा फेरिएको छ”, र्यापर हाकिमले भने, “अहिले बढिरहेको लोकप्रियताले र्याप नबुझी लोकप्रियताका लागि मात्र आउनेलाई यहाँ टिक्न दिँदैन ।”
उनको ‘राक्षस’, ‘चोरी देऊ लौन मलाई’लगायतका र्याप लोकप्रिय छन् । र्यापमा भविष्य खोजिरहेका युवाहरूको जमात दिनदिनै बढ्दो छ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209