काठमाडौँ । सुदूरपश्चिम क्षेत्रको साझा हित,मौलिक संस्कृति, भाषा र पहिचानको संरक्षण तथा अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्ने महान उद्देश्यका साथ स्थापना गरिएको सुदूरपश्चिमेली नेपाली समाज – अन्तर्राष्ट्रिय समितिले चौथो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन –२०२५को आयोजना गर्ने भएको छ ।
यहीँ असोज २३,२४ र २५ गते सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी, कैलालीमा यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।
यस ऐतिहासिक सम्मेलनमा समाजसँग आबद्ध सम्पूर्ण संघ–संस्थाहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरू, आस्थावान सहयोगी दाताहरू, सहकर्मी संस्थाहरू, बुद्धिजीवी वर्ग, र सम्पूर्ण सुदूरपश्चिमप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलाई समितिले निमन्त्रण पनि गरेको छ ।
सम्मेलनका उद्देश्यमा सुदूरपश्चिमेली प्रवासी समुदायबीच एकता, सहकार्य र आत्मीयता सुदृढ गर्नु,मौलिक भाषा, संस्कृति, र पहिचानको प्रवद्र्धन,अन्तर्राष्ट्रिय स्तरमा सुदूरपश्चिमको सम्मान र गरिमालाई उचो बनाउने रहेको समिति सचिव डम्मर बहादुर खड्काले जानकारी दिए ।