काठमाडौं, कञ्चनपुरको कृष्णपुरमा छाउगोठमा बसेकी एक महिलाको सर्पले टोकेर मृत्यु भएको छ। आफ्नै पक्की र सुरक्षित घर हुँदाहुँदै पनि समाजमा गहिरोसँग जरो गाडेको अन्धविश्वासका कारण घरबाहिरको छाउगोठमा सुत्न बाध्य पारिएकी कृष्णपुर नगरपालिका–१, निगाली गाउँकी २८ वर्षीया कमला दमाईको शनिबार राति सर्पको डसाइबाट मृत्यु भएको हो ।
कमलाले श्रीमानसँगै भारतमा मजदुरी गरेर जोहो गरेको पैसाले कृष्णपुरमा हालै एक तले पक्की घर पनि बनाएकी थीइन् । तर, उनी रजस्वला हुँदा छाउगोठमा सुतिन, त्यहीँ सर्पले डस्दा उनको ज्यान गयो । उनी घरबाट करिब डेढ सय मिटर टाढा रहेको अर्काको जीर्ण छाउगोठमा बस्न गएकी थीईन्। राति करिब १० बजेतिर असुरक्षित छाप्रोमा निदाइरहेकी कमलालाई विषालु करेत सर्पले डसेको थियो।
छाउगोठमा उनी एक्लै सुतेकी थीन्। एकाएक सर्पले डसेपछि कमला चिच्याउन थालिन । परिवारले घटना थाहा पाउनेबित्तिकै हो हल्ला मच्चियो। परिवार छाउगोठसम्म पुग्दा बेहोस अवस्थामा पुगिसकेकी थीईन्, कमला। उनलाई बचाउन परिवारले हतार–हतार अटो रिक्सामा राखी घण्टा समयमा धनगढीस्थित सेती प्रादेशिक अस्पताल र्पुयायो। तर आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।
कमला गत वैशाखमा भारतबाट फर्किएकी थीन । श्रीमानसँगै भारतमा मजदुरी गर्दै आएकी कमला छोरालाई पढाउन भनेर घर फर्किएकी हुन । उनका ६, ८ र १२ वर्षीय छोराहरू विद्यालय भर्ना भएर पढिरहेका थिए । शुक्रबार भने उनी आफ्नो घरको आगनमै बनाइएको छाउगोठ पानी परेपछि चुहिने भएकाले बसिनन । नातामा जेठाजु समेत पर्ने छिमेकी सुके आउजीको घरमा बनाइएको छाउगोठमा सुत्न गएकी थीईन् । तीन छोरालाई घरमा सुताएर छाउगोठमा सुत्न गएकी कमलालाई सुतेकै बेला सर्पले डसेको हो ।
उनका तीन छोराहरु भने यतिबेला टुहुरा भएका छन । श्रीमतीको अल्पायुमै मृत्यु भएको खबरपछि उनका श्रीमान अन्तिम संस्कारका लागि घर फर्किरहेका छन । मृतक कमलाको शव भने सेती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ । कमला दमाईको सर्पको टोकाइबाट निधन भएपछि नगरपालिकाले छाउगोठ भत्काउन निर्देशन दिएको छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद भट्टले निर्देशनपत्र जारी गर्दै छाउ गोठ भए नभएको निरीक्षण गर्न १ देखि ९ सम्मका सबै वडा कार्यालयलाई निर्देशन दिएका हुन्। मुलुकी संहितामा पनि रजस्वला र सुत्केरी अवस्थामा छाउपडफमा राख्न वा अन्य कुनै भेदभाव, छुवाछूत गराउन नहुने उल्लेख गरिएको छ।
यस्तो कार्य गरेको ठहरिएमा ३ महिनासम्म कैद वा ३ हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था पनि ऐनमा रहेको छ।तर, पनि अझै पुर्ण रुपमा छाउ गोठ भत्कन सकेका छैन । महिनावारी भए पछि अझै सुदुरपश्चिमा धेरै ठाउँमा छाउगोठको प्रचलन छ ।