Shares
Shares
सुनसरी। धरान उपमहानगरपालिका–८ मा अवस्थित हरियाली तीन ढ्वाङ्गे खहरे पुल भत्किएको एक वर्ष भइसक्दा पनि पुनः निर्माण नहुँदा स्थानीय दैनिक ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य छन् । विक्रम संवत् २०८० चैतमा निर्माण सम्पन्न भएको सो पुल छ महिना नपुग्दै भत्किएको थियो । एक वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले मर्मत वा पुनः निर्माणमा कुनै पहल नगरेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
“वर्ष दिन भयो पुल भत्किएको पैदल नै भए पनि यहीँबाट हिँड्नुपर्ने बाध्यता छ,” स्थानीय जीवन तामाङले भने, “साना बच्चा, वृद्ध र बिरामी लिएर हिँड्दा निकै जोखिम हुन्छ, कहिले पुल बन्ला भन्ने आशामा छौँ । अहिले बर्खा लागिसक्यो, खोलामा बाढी आउँछ भन्ने त्रास छ, तर विकल्प छैन ।”
उनका अनुसार पुल भत्किएपछि पैदल यात्रुले जोखिम मोलेर आवतजावत गरिरहेका छन् भने सवारीसाधनहरू वैकल्पिक बाटो प्रयोग गर्न बाध्य छन् । “सवारीसाधनले त घुमाउरो बाटो समात्छन्, तर हामीजस्ता बुढापाका, बालबालिका र विद्यार्थीहरू जोखिम मोलेर हिँड्नुपरेको छ,” स्थानीय ७९ वर्षीय अमृत श्रेष्ठले भने, “पुल नहुँदा बिरामी बोकेर अस्पताल लैजान एम्बुलेन्सलाई समस्या भएको छ ।” पहिले यही पुल प्रयोग गर्दा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्न छोटो दूरी थियो, अहिले वैकल्पिक घुमाउरो बाटो प्रयोग गर्दा बिरामी ढिलो पुग्ने र त्यसले गम्भीर असर पारिरहेको स्थानीयको भनाइ छ ।
वर्षायाम सुरु भइसकेकाले खहरे खोलामा बाढी थुनिएर बस्तीमा पस्न सक्ने खतरा बढेको छ । धरान बजार क्षेत्रको फोहोर पानी यही खोलामा मिसिने भएकाले करिब २०० घर प्रत्यक्ष बाढीको जोखिममा रहेको वडाध्यक्ष धनबहादुर राईले जानकारी दिए । उनका अनुसार विसं २०१७ मा ब्रिटिस घोपा क्याम्प जान सहज होस् भनेर निर्माण गरिएको सो पुल अहिले पूर्ण रूपमा भत्किएको छ । मदन भण्डारी राजमार्ग निर्माणका क्रममा नयाँ पुल नबनाई पुरानै पुलमाथि कालोपत्र गर्दा पुल भत्किएको उनको भनाइ छ ।
धरान उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले पुलको स्थलगत निरीक्षण भइसकेको र हाल अस्थायी रूपमा क्याबिन राखी कल्भर्टमार्फत पानी बगाउने योजना बनाइएको बताए । उनले चाँडै पुल पुनः निर्माणको प्रक्रिया सुरु गरी स्थानीयको समस्या समाधान गर्ने प्रयास भइरहेको बताए ।
मदन भण्डारी राजमार्ग निर्माण आयोजनाका इन्जिनियर घनश्याम खड्काका अनुसार २०८० मा सडक कालोपत्रे गर्दा पुल ठिकठाक देखिएपछि त्यहीँमाथि कालोपत्र गरिएको थियो । तर कल्भर्टमा प्रयोग गरिएको फलाम पुरानो भई खिया लागेकाले भाँचिएको उनले बताए ।
कल्भर्ट भाँचिएपछि अस्थायी रूपमा बनाइएको बाटो पनि पुनः बाढीले बगाएपछि साना सवारी र टेम्पो सञ्चालन गर्न मिल्ने गरी साइडबाट अस्थायी फलामको पुल बनाइएको उनले जानकारी दिए । स्थायी समाधानका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने प्रक्रिया अगाडि बढिरहेको र त्यसपछि नयाँ पुल निर्माण सुरु गरिने उनले बताए ।
उनका अनुसार पुल निकै पुरानो भएकाले त्यसको लागत र विवरण अभिलेखमा छैन । हालैको बाढीले खहरे खोलामा भित्री कटान बढाएपछि स्थानीयमा थप त्रास फैलिएको उनको भनाइ छ । खोलाले धेरै कटान गरिसकेको छ । नयाँ पुल निर्माण अत्यावश्यक छ । अध्ययन गरेर निर्माण गर्नुपर्छ र त्यसका लागि केही समय लाग्न सक्ने, इन्जिनियर खड्काको भनाइ छ ।
धरान बजार क्षेत्रका ढल खहरेमा मिसिने भएकाले बर्खामा पानीको बहाव अत्यधिक हुने र खहरेको धार परिवर्तन भई बस्तीमा पस्न सक्ने स्थानीयको चिन्ता छ । स्थानीयले पुलको पुनः निर्माणमा शीघ्रता अपनाउन सरकार र सरोकारवाला निकायलाई आग्रह गरिरहेका छन् । पुल निर्माणमा ढिलाइ हुँदा जनधनको क्षति हुन सक्ने स्थानीयको भनाइ छ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209