काठमाडौं । आज असार १५ रोपाइँ सकेको खुशीयालीमा भोजस्वरुप दही,चिउरा खाने दिन हो। सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ । नेपाली समाजमा परम्परागत रुपमै असार १५ मा दही—चिउरा खाने प्रचलन रहँदै आएको हो ।
तर, असार १५ मै किन खाइन्छ दही—चिउरा ?
संस्कृतिकर्मीहरु असारमा समयमै रोपाइँ सकिएको खुशीयालीमा भोजस्वरुप दही,चिउरा खाने प्रचलन रहेको बताउँछन् । परापूर्वकालदेखि नै यो प्रचलन चल्दै आएको छ । समयक्रमले यस प्रचलनलाई असार १५ मा पुर्याएको संस्कृतिकर्मीहरुको तर्क छ ।
संस्कृतिकर्मीहरुका अनुसार पहिले रोपाइँ नसकिएसम्म दही—चिउरा खाइँदैनथ्यो तर, अहिले रोपाइँ सकियोस् या नसकियोस्, प्रत्येक वर्षको असार १५ मा दही—चिउरा खाइन्छ । हुन त अहिले दही—चिउरा खान असार १५ नै पर्खनु पर्दैन । बजारमा बार्है महिना दही—चिउरा उपलब्ध छन् ।
तर, परापूर्वकालमा रोपाइँ सकिएको खुशीयालीमा मात्रै भोजस्वरुप दही,चिउरा खाने चलन रहेको संस्कृतिकर्मी बताउँछन् । ‘
रोपाइँका वेला सबैलाई भ्याइनभ्याइ हुन्छ । त्यसैले समय लगाएर पकाइरहन नपर्ने र तयार गर्न धेरै समय पनि नलाग्ने दही—चिउरा खाने प्रचलनले महत्व पाएको हो । ‘असारमा रोपाइँको व्यस्तताले अरु खानेकुरा जोहो गर्ने समय हुँदैन’, ‘पकाइवरी गर्न नपर्ने र सरल रुपमा सबैका घरघरमा उपलब्ध हुने दही,चिउरा रोपाइँ सकिएको खुशीयालीमा खाने प्रचलन रहेको हो । अहिले असार १५ मै दही,चिउरा खाने थिति नै बसेको छ ।’
उसवेला सबैसँग अहिलेजस्तो माछामासुलगायतका पौष्टिक आहार खाने क्षमता थिएन । रोपाइँले थाकेका किसानहरुलाई माछामासु पकाएर बस्ने फुर्सद पनि हुँदैनथ्यो । तर, सबैजसो किसानका घरमा गाईभैंसी पालिएका हुन्थे । जसले गर्दा घरघरमा दूधसँगै दही, मही र घ्यू खाली हुँदैनथ्यो ।
त्यस्तै खेतीकिसानी गर्ने भएकाले चिउरा पनि घरमै हुने भइहाल्यो । किसानहरुको घरमा असारमा हुने रोपाइँका लागि वैशाखमै चिउराको जोहो गर्ने प्रचलनसमेत रहेको छ ।
यसरी घरमै हुने दही—चिउरालाई महत्व दिएर असारमा रोपाइँ सकिएको खुशीयालीमा भोज गर्ने प्रचलन रहेको संस्कृतिकर्मीहरुले बताएका छन् ।