काठमाडौँ । केही दिनबाट सताइरहेको अत्यधिक गर्मीबाट आजदेखि क्रमशः राहत मिल्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि देशका धेरैजसो भू–भागमा आंशिकदेखि सामान्य बदली हुने र तापक्रम घट्दै जाने छ ।
पछिल्लो केही दिनदेखि तराईलगायत देशका धेरैजसो ठाउँमा तापक्रम उच्च रहेकाले जनजीवन कष्टकर बनेको थियो । तर आजदेखि बादल लाग्ने र केही ठाउँमा वर्षाको सम्भावना रहेकाले गर्मीमा केही राहत महसूस हुने मौसमविद्को भनाई छ ।
अहिले कोशी प्रदेशका धेरैजसो ठाउँमा मनसुन फैलिएको भए पनि त्यो अझै पूर्ण सक्रिय भएको छैन । महाशाखाले देशभर मनसुन फैलिन अझै ५ देखि ७ दिन लाग्न सक्ने अनुमान गरेको छ ।