Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सानद्वारा आयोजित अन्तर-स्कुल गणित हाजिरीजवाफमा प्रेरणा ज्ञान बाटिका प्रथम

सानद्वारा आयोजित अन्तर-स्कुल गणित हाजिरीजवाफमा प्रेरणा ज्ञान बाटिका प्रथम

काठमाडौँ । स्कुल एसोसिएसन अफ नेपाल (सान) द्वारा आयोजित अन्तर-स्कुल बौद्धिक गणित हाजिरीजवाफ (Mental Math Quiz Competition) प्रतियोगितामा प्रेरणा ज्ञान बाटिका मन्टेश्वरी स्कुलले पहिलो स्थान हासिल गर्दै महत्वपूर्ण सफलता हात पारेको छ। काठमाडौं महानगरपालिका १५, स्वयम्भूस्थित बोधिसत्त्व स्कुलको आयोजनामा सम्पन्न प्रतियोगितामा सानमा आबद्ध १४ वटा विद्यालयहरूको सहभागिता रहेको थियो। ती सबै प्रतिस्पर्धी विद्यालयहरूमध्ये प्रेरणा ज्ञान बाटिकाले पहिलो पटक प्राथमिक तहको प्रतिस्पर्धामा सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शनसहित प्रथम स्थान हासिल गरेको हो।

उक्त प्रतियोगितामा कामना इन्टरनेसनल स्कुलले दोस्रो, इडियु समिट स्कुलले तेस्रो र लिटिल क्लाइम्बर्स स्कुलले चौथो स्थान प्राप्त गरेका थिए। विजयी स्कुलका विद्यार्थीहरूले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए भने सहभागिता जनाएका सबै विद्यार्थीलाई सम्मानपूर्वक पुरस्कार प्रदान गरिएको थियो।

प्रेरणा ज्ञान वाटिका मन्टेश्वरी स्कुल लामो समयदेखि प्रिस्कुलको रुपमा स्थापित विद्यालय हो भने पछिल्लो दुई वर्षदेखि माथिल्लो कक्षाहरू पनि सञ्चालन गर्ने उद्देश्यले शैक्षिक सत्र २०८२ देखि कक्षा ३ सम्म सञ्चालन भइरहेको छ। प्रेरणा ज्ञान वाटिका मन्टेस्वरी स्कुलका संस्थापक प्रिन्सिपल भोला मान सिंह राउत भन्नुहुन्छ म विगत दुई दशकदेखि शैक्षिक क्षेत्रमा आबद्ध छु हाम्रो विद्यालय यस क्षेत्रको एक अग्रणी शैक्षिक संस्था हो। सुरुवातदेखि नै हामी गुणस्तरीय शिक्षा, नैतिकता र अनुशासनमा जोड दिँदै आएका छौँ।हामी Activity-Based Learning (क्रियाशील शिक्षण) मा विश्वास गर्छौं। विद्यार्थीहरूले कुरा सम्झने मात्र होइन, अनुभूति गर्ने र प्रयोग गर्न सकुन् भन्ने हाम्रो उद्देश्य हो।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा काठमाडौँ महानगरपालिका वडा नं. १५ का अध्यक्ष ईश्वरमान डंगोल रहनु भएको थियो। उहाँले यस्ता प्रतियोगिताले विद्यार्थीहरूमा बौद्धिक विकास मात्र नभइ सिर्जनात्मक सोच, समर्पण र आत्मविश्वास अभिवृद्धिमा सघाउ पुर्‍याउने उल्लेख गर्नुभयो।

विशेष अतिथिको रूपमा वडा शिक्षा प्रमुख मैयालक्ष्मी महर्जनको उपस्थिति थियो भने सानका पदाधिकारी, विभिन्न विद्यालयका प्रिन्सिपलहरू तथा अभिभावकहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रमका संयोजक एवं आयोजक विद्यालय बोधिसत्त्व स्कुलका प्रिन्सिपल कुन्केप लामाले बौद्धिक प्रतिस्पर्धाले विद्यार्थीहरूमा शीघ्र सोच्ने, सम्झने र कार्यान्वयन गर्ने क्षमताको विकास हुने विश्वास व्यक्त गर्नुभयो।

प्रेरणा ज्ञान बाटिका – अनुकरणीय नेतृत्व र शैक्षिक दृष्टिकोण

लामो समयदेखि प्रीस्कुलको रूपमा शिक्षण सञ्चालन गर्दै आएको प्रेरणा ज्ञान बाटिका मोंटेस्वरी स्कुलले शैक्षिक सत्र २०८२ देखि कक्षा ३ सम्मको अध्यापन सुरु गर्दै प्राथमिक तहको नयाँ पहिचान बनाउने यात्रा प्रारम्भ गरेको हो। पहिलो पटकको सहभागितामै प्राप्त उल्लेखनीय सफलताले स्कुलको शैक्षिक दृष्टिकोण, व्यवस्थापन र पद्धतिप्रतिको प्रतिबद्धता उजागर गरेको छ। विद्यालयका संस्थापक प्रिन्सिपल भोला मान सिंह राउतका अनुसार, “हामी Activity-Based Learning मा विश्वास गर्छौं। विद्यार्थीहरूले केवल पढ्ने मात्र नभइ अनुभूति गर्ने, प्रयोग गर्ने र सिकाइलाई जीवन्त बनाउने वातावरण दिन हामी प्रयत्नशील छौं।”

उनका अनुसार विद्यालयमा SMART कक्षा, परियोजना कार्य, समूह छलफल लगायतका शिक्षण विधिहरू नियमित रुपमा सञ्चालनमा छन्। साथै, प्राइमरी तहका बालबालिकाका लागि छुट्टै भवन र खेलमैदानको संरचना निर्माण अन्तिम चरणमा पुगेको र आगामी असारको पहिलो हप्ता सञ्चालनमा ल्याइने लक्ष्य राखिएको जानकारीसमेत दिए। प्रिन्सिपल राउत भन्छन्, “हामी विद्यार्थी संख्यालाई सीमित राखेर गुणस्तरीय शिक्षा दिनुपर्ने मान्यतामा विश्वास गर्छौं। यसले शिक्षकलाई हरेक विद्यार्थीमा व्यक्तिगत ध्यान दिन सक्ने बनाउँछ, जसले शैक्षिक गुणस्तर अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउँछ।”

कार्यक्रमका सभापति एवं सानका अध्यक्ष दिलिप रेग्मीले हाजिरीजवाफजस्ता बौद्धिक प्रतिस्पर्धाले बालबालिकामा तर्कशक्ति, आत्मविश्वास र सिर्जनात्मकता अभिवृद्धि गर्ने बताउँदै स्कुलहरूलाई यस्ता प्रतियोगितालाई नियमित गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो।

“आजको युगमा सामान्य अंकगणितमा पनि क्याल्कुलेटरको आश्रय लिने अभ्यास बढिरहेको अवस्थामा यस्तो बौद्धिक गणित प्रतिस्पर्धाले बालबालिकामा मानसिक क्षमता बढाउन अत्यन्त प्रभावकारी भूमिका खेल्दछ,” उहाँले भन्नुभयो। स्थापित र ठूला विद्यालयहरूको प्रतिस्पर्धामाझ प्रेरणा ज्ञान बाटिका स्कुलले प्रथम स्थान हासिल गर्दै आफ्नो शैक्षिक क्षमताको प्रमाण प्रस्तुत गरेको छ। नयाँ पुस्ताको लागि गुणस्तरीय र व्यवहारिक शिक्षा दिनतर्फ अग्रसर यो विद्यालयले छोटो समयमै आफुलाई प्रतिस्पर्धात्मक शैक्षिक संस्थाको रूपमा उभ्याउन सफल भएको छ।