काठमाडौँ । अहिले देशका केहीँ ठाउँमा सामान्य वर्षा भैरहेको छ । आज मनसुनी वायु पूर्वमा सक्रिय बनेको छ । देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सर्लाहीको परवानीपुरमा ५६ दशमलव २ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै मोरङमा २९ दशमलव ६, सिन्धुलीमा २५ दशमलव ८ र उदयपुरमा २४ दशमलव २ मिलिमिटर वर्षाको मापन भएको छ ।
यसैगरी जनकपुर, महोत्तरी, रौतहट, सिराहा, धनुशा ,सप्तरी, सुनसरी , मोरङ, रामेछाप, सोलुखुम्बु र आसपासका ठाउँहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ ।
काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा पनि गएराति छिटपुट वर्षा भएको छ । आज दिउँसो देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।