Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कुमाल समुदाय निगुरो बिक्री गरेर घर खर्च चलाउँदै

कुमाल समुदाय निगुरो बिक्री गरेर घर खर्च चलाउँदै

गुल्मी। जिल्लाको पश्चिमी भेगमा बसोबास गर्ने कुमाल समुदाय निगुरो बिक्री गरेर घर खर्च चलाउँदै आएको छ । उनीहरूले वर्षौँदेखि वन जङ्गलमा पाइने जडीबुटीजन्य तरकारी निगुरो सङ्कलन गरेर बिक्री गरी नुन तेलको जोहो गर्दै आएका छन् । उन्यू प्रजातिको एक प्रकारको वनस्पति निगुरो तरकारी र अचार खान प्रयोग गरिन्छ ।

विपन्न कुमाल समुदाय बढी मात्रामा यो पेसासँग जोडिएको छ । जेठ महिना सुरु भएपछि असोज महिनासम्म वन पाखामा प्रशस्त मात्रमा निगुरो पाइने गर्दछ । बिहानै उठेपछि डोको र नाम्लो बोकेर जङ्गलसम्म पुगेर डोकोभरि निगुरो टिपेर उनीहरू फर्कने गर्दछन् । यस क्षेत्रमा बसोबास गर्ने कुमाल समुदायसँगै अन्य विपन्न परिवारका सदस्यको दिनचर्या दिनभर जङ्गल र पाखामा निगुरो टिपेर बित्ने गर्दछ।

मनग्य आम्दानी गर्न सकिने भएका कारण त्यस क्षेत्रका कुमाल समुदाय यो पेसालाई अँगाल्दै आएका छन् । उनीहरू आफूले अघिल्लो दिन टिपेको निगुरो दोस्रो दिन बिहानै बिक्रीका लागि स्थानीय बजारदेखि सदरमुकाम तम्घाससम्म आइपुग्छन् । जिल्लाको अर्जै, घमिर, अर्खाबाङ्, नेटा तथा ह्वाङ्दी, मुसिकोट लगायतका जङ्गलमा प्रशस्त मात्रमा निगुरो पाइने गर्दछ । विपन्न परिवारका लागि निगुरो यति बेला राम्रो आम्दानीको मुख्य स्रोत बनेको छ । आफूले निगुरो बिक्री गरेर मासिक रु ३० हजारसम्म कमाउने गरेको इस्मा गाउँपालिका–५ की सरस्वती मुखिया बत्ताउँछिन् । उनलाई त्यसैबाट घर खर्च चलाउन सजिलो भएको छ ।

एक मुठा निगुरो रु ५० मा बिक्री गर्ने गरेको मुखियाले बताइन् । “दिनभर जङ्गलमा पुगेर टिप्ने हो, झरी, घाम, सर्प सबैबाट जोगिनुपर्छ, टिपेर ल्याएपछि बिक्री गर्न त गाह्रो छैन, घर खर्च चलाउन कसैसँग सापट माग्नु परेको छैन,” मुखियाले भनिन् ।

जङ्गलबाट टिपेर ल्याएका वस्तुको गाउँमा खासै महत्त्व नहुने भएका कारण त्यसलाई डोकोमा बोकेर बिक्रीका लागि सदरमुकाम तम्घाससम्म ल्याउने गरिन्छ । यसलाई उत्पादन गर्न कुनै लगानी गर्नु नपर्ने, जङ्गलमा पुगेपछि सित्तैमा टिप्न पाइने र बजारमा राम्रो मूल्य पाइने भएका कारण निगुरो टिप्ने गरिन्छ । जङ्गलबाट टिपेर ल्याएको निगुरोलाई सुरुमा साना–साना मुठा बनाउने र त्यसलाई डोकोमा बोकेर बिक्रीका बजारसम्म पुराउने गरिन्छ ।

निगुरोले उचित मूल्य पाउने गरे पनि यसलाई टिप्न भने गाह्रो काम भएको इस्मा अमरपुरकी सीता कुमालले बताइन् । “दिनभर जङ्गलमा जाने हो, घाम पानी नभनेर निगुरो टिप्छौँ”, उनले भनिन् । सीता मुखिया मात्र हैन उनीसँगै पसिना पुछ्दै डोकोमा निगुरो बोकेर सदरमुकाम आइपुगेकी चमेली राना निगुरो बिक्री गरेपछि घरपरिवारका सदस्यहरूको आवश्यकता पूरा गर्छिन् ।

“आम्दानी नहुनेलाई घर खर्च चलाउन निकै सजिलो भएको छ” उनले भनिन् । बर्खाको समयमा जङ्गलदेखि निगुरो टिपेर दुई दिनको समय खर्चेर सदरमुकामसम्म आउन उनीहरूलाई त्यत्ति सहज भने छैन । गुल्मीको निगुरो सदरमुकाम तम्घासमा मात्र होइन बुटवलका हाटबजारसम्म पुग्ने गर्दछ । आफन्तलाई कोसेलीको रूपमा पनि निगुरो खोजी खोजी पठाउने प्रचलन छ । बजारमा विषादी प्रयोग गरेका तरकारी खाँदाखाँदै हैरान परेका व्यक्तिका लागि पहाडको जङ्गलबाट टिपेर ल्याएको अर्ग्यानिक निगुरोको बजारमा प्रशस्त माग हुने गर्दछ ।

निगुरोबाट अचार, तरकारी, चुकौनी लगायतका परिकार बनाउन सकिने र ती परिकारहरू मिठो र स्वादिलो हुने गरेको स्थानीय हरिप्रसाद शर्माले बताए । निगुरो बिक्री गरेर यस क्षेत्रका विपन्न कुमाल समुदायले सिजनमा न्यूनतम रु दश हजारदेखि रु तीस हजारसम्म आम्दानी गर्दै आएका छन्