काठमाडौँ । शनिवारदेखि नेपालको पूर्वी भू–भागबाट प्रवेश हुने सम्भावना देखिएको मौसम विज्ञान विभागले जानकारी दिएको छ । मनसुन आगमन अनुगमन बुलेटिनअनुसार यस वर्षको मनसुन यसै हप्ताको अन्त्यमा नेपाल प्रवेश गर्ने सम्भावना रहेको उल्लेख छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले भारतको आसामका केही भागहरू तथा भुटान र बङ्गलादेशको पूर्वी भागहरूसम्म मनसुनको आगमन भएको जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा वर्षा र गर्मी दुवै सरदरभन्दा बढी हुने यसअघि नै प्रक्षेपण गरिसकेको छ ।
सामान्यतया नेपालमा जुन १३ तारिखदेखि मनसुन शुरु भएर अक्टुबर २ तारिखमा बाहिरिन्छ । यो अवधिमा नेपालमा वर्षभरी हुने वर्षाको ८० प्रतिशतसम्म वर्षा हुने गर्छ ।
आज रातिदेखि भने बङ्गालको खाडीको जलवाष्पयुक्त हावा थप सक्रिय हुने भएकाले लुम्बिनीदेखि पूर्वसम्म धेरै ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन ।