Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो

कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो

हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा जेठ १ गते राति आएको बाढीपहिरोबाट पीडितका लागि कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री यहाँ पुगेको छ ।

प्रदेश सरकारले पठाएको पिठो, सोलार सेट, अस्थायी घर (टेन्ट), म्याट्रेस सेटलगायत राहत सामग्री यहाँ आइपुगेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए । प्रदेश सरकारले पठाएको राहत सामग्री प्रजिअ पाण्डेय, नाम्खा गाउँपालिकाका उपाध्यक्ष तक्दिर लामा, प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेललगायतले खार्पुनाथ गाउँपालिका–१ बोक्चेगौडामा पुगेर लिएका छन्।

बोक्चेगौडा सडक निर्माण भइरहेका कारण सिधै सदरमुकाम सिमकोटमा पुग्न नसकेपछि उनको टोली शनिबार त्यहाँ पुगेर राहत सामान बुझी ल्याएको हो । उक्त सामान बोक्चेगौडा भिरमा बोकेर ओसारिएको थियो । यस्तै अन्य सुरक्षाकर्मीले भारी बोकेर भिर पार गरी सामग्री ओसारेका थिए । कर्णाली प्रदेश सरकारले पठाएको उक्त राहत सामग्री नाम्खा गाउँपालिका उपाध्यक्ष लामाको जिम्मा लगाइएको छ ।

यही जेठ १ गते राति गाउँभन्दा माथिदेखि बाढीपहिरो आउँदा तिल गाउँका १९ परिवारका ३३ जना अहिले त्रिपालमुनि बस्दै आएका छन् । तिलगाउँमा आएको बाढीपहिरोबारे अनुसन्धान, अवलोकनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिनियर डिभिजनल इन्जिनिर सुशीलकुमार श्रेष्ठ नेतृत्वको तीन सदस्यीय टोली अहिले उक्त स्थानमा रहेको छ ।