काठमाडौँ । आज पनि विभिन्न ठाउँमा वर्षा र केही ठाउँमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको छ । पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव र बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावका कारण आज पानी पर्ने सम्भावना रहेको हो । अहिले बिहान कोशी प्रदेशका झापा, इलाम, मोरङ लगायतका केही जिल्लामा हल्का वर्षा भएको छ । आज दिउँसो देशभर मौसम आंशिकदेखि साधारणतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार आज पनि सबै प्रदेशका पहाडी क्षेत्रमा रहेका केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । मधेश प्रदेश र अरु प्रदेशको तराई क्षेत्रमा पनि हावाहुरीसँगै हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।