काठमाडौँ । आज देशका केहीँ ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । काठमाण्डौ उपत्यकामा बिहान हल्का वर्षा भएको छ । त्यस्तै कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम आंशिक बदली रहने अनुमान छ ।
मधेसलगायत कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भागका केही ठाउँमा हावाहुरीको पनि सम्भावना छ ।