काठमाडौँ । शनिवार देशका विभिन्न ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ । त्यस्तै कतै–कतै हावाहुरी पनि चल्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, मधेश प्रदेशको पश्चिमी क्षेत्र, बागमती र गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ ।
यी क्षेत्रका थोरै ठाउँमा र बाँकी क्षेत्रका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली एक–दुई ठाउँमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।
काठमाण्डौ उपत्यकामा आज दिउँसोपछि हिजोको जस्तै बदली र हावाहुरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । त्यस्तै प्रि–मनसुनमा स्थानीय वायु बढी सक्रिय हुने भएकाले छिटो–छिटो मौसम फेरबदल भइरहन्छ ।