मुगु । पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा क्षेत्रको पर्यटन विकास र पूर्वाधारमा लगानीको वातावरण बनाउन पर्यटन व्यवसायी एवं स्थानीय सरोकारवालाहरूले जोड दिएका छन् । रारा नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने उद्देश्यले आयोजित पर्यटन व्यवसायीहरूको रारा भ्रमणका क्रममा मुगुको सल्लेरीमा गरिएको अन्तक्र्रियाका वक्ताहरूले स्थानीय तहमा पर्यटन सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि गरिनुका साथै तालिम, प्रशिक्षण र स्तरीय होटल पूर्वाधारका लागि थप सहयोग आवश्यक रहेको औँल्याए ।
कार्यक्रममा स्थानीय छत्र साउदले रारालाई प्राथमिकता दिएकामा आभार व्यक्त गर्दै यसले स्थानीय जीवनस्तर र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । राराका होटल व्यवसायी देवीकृष्ण रोकायाले स्थानीय तहमा पर्यटन सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि आवश्यक रहेको बताउनुभयो । उहाँले तालिम, प्रशिक्षण र स्तरीय होटल पूर्वाधारका लागि थप सहयोग आवश्यक रहेको औँल्याए ।
बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐरले उत्कृष्ट गन्तव्य रारा संरचनागत रूपमा धेरै विकास भइसकेको बताए । नियमित हवाई उडान र सडक सञ्जालले रारालाई सुगम बनाएको र पाहुना व्यवस्थापनका लागि भरपर्दो व्यवस्था रहेको बताए ।
रारा इको–टुरिज्म र चलचित्र छायाङ्कन लागि उत्कृष्ट गन्तव्य भएकाले विश्वभरका पर्यटकलाई रारा लैजान पहल गर्नुपर्नेमा निर्देशक ऐरको जोड छ । टीवानका अध्यक्ष भीष्म न्यौपानेले रारा क्षेत्रमा पर्यटक बस सञ्चालन गर्दा केही चुनौती भएता पनि सङ्घ तयार रहेको बताए । उनले सडक छेउका होटल व्यवस्थित गर्न र स्थानीय बासिन्दामा हस्पिटालिटी सेवामा सुधार ल्याउन आवश्यक भएको बताए ।