काठमाडौँ । काठमाडौं महानगरपालिकाले केही विद्यालयहरुले नेपाली भाषामा संवाद गरेमा दण्डित गर्ने वा जरिवाना गर्ने कार्य तत्काल बन्द गर्न निर्देशन दिएको छ । महानगरले विज्ञप्ति जारी गर्दै बोर्डिङमा नेपाली भाषा बोले जरिवाना तिर्नुपर्ने गुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस्तो कार्य नगर्न निर्देशन दिएको हो । महानगरपालिकाले शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएपनि नेपाली भाषामा संवाद गर्न दिन मातहतका सामुदायिक तथा संस्थागत विद्यालयलाई निर्देशन दिएको हो ।
महानगरका शिक्षा अधिकृत नेत्र नारायण पौडेलले जारी गरेको विज्ञप्तिमा कुनै विद्यालयले शिक्षणको माध्यम अंग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अंग्रेजी भाषालाई अनिवार्य गरी नेपाली भाषा बन्देज गर्ने कार्य तत्काल बन्द गर्न भनिएको छ । ‘यस महानगरपालिका अन्तर्गतका शिक्षण सिकाइको माध्यम अङ्ग्रेजी भएका केही विद्यालयहरूले विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भन्ने गुनासो प्रति यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको ’, छ, ‘यदि कुनै विद्यालयले शिक्षणको माध्यम अङ्ग्रेजी हुने विषयमा बाहेक अन्य क्रियाकलापमा अङ्ग्रेजी भाषालाई अनिवार्य गरी विद्यार्थीले विद्यालय परिसरमा नेपाली भाषामा संवाद गरेमा विद्यार्थीलाई दण्डित गर्ने वा जरिवाना गर्ने कार्य गरेको भए तत्काल बन्द गर्न निर्देशानुसार सूचित गरिन्छ।’ पत्रमा भनिएको छ ।
केही निजी विद्यालयहरुले अंग्रेजी भाषालाई प्राथमिकतामा राखेर विद्यालय समयभरी नै अंग्रेजी बोल्न बाध्य पार्न गरेको भन्दै गुनासो आउने गरेको महानगरले जनाएको छ । अरू सबै विषय अंग्रेजी माध्यममा पढाइ हुन्छन्, निजी स्कुलहरूमा तर अनिवार्य नेपालीको विषय मात्रै नेपालीमा पढार्यन्छ । तर, अहिले धेरै विद्यालयमाहरूमा सामाजिक विषय पनि नेपाली माध्यममै पढाइ हुन थालेको छ । आफ्ना बच्चा फर्रर अंग्रेजीमा बोल्दा हामी मख्ख पर्छौं तर नेपालीमा अक्क न वक्क पर्दा मौन रहन्छौं। आफ्नो मातृभाषामा बोलेको कारण दण्डित गर्ने नियम कुन मुलुकमा छ होला ? तर, नेपालमा अझै छ। यसबारेमा शिक्षणसंस्था र स्वयम् अभिभावक नै जागरूक हुनु जरूरी छ।
कम्तीमा आफ्नो भाषाको संरक्षण गरौं, जतिसुकै अंग्रेजीकरण गरिए पनि मूलत हामी नेपाली हौं, हाम्रा बच्चाहरू नेपाली भाषा सिकेरै हुर्केका हुन्, उनीहरूलाई नेपाली भाषामा बोलेकै आधारमा कारबाहीको भागीदार बनाउनु किमार्थ राम्रो पक्ष भने होईन । अहिले अंग्रजी भाषाका नाममा विखर्थीमाथी ज्याजती भई रहेको छ । नेपाली हाम्रो राष्ट्रिय भाषा हो । खासमा भन्ने हो भने अंग्रेजी नजान्दा हामी लज्जित होईन नेपाली भाषा नजान्दा जज्जित हुनु पर्ने हो । अहिले परिवर्तीत समयमा कतिपय बिदेशमा बस्ने नेपालीले त आफ्ना सन्तानलाई नेपाली भाषा सिकाउन नेपाल ल्याएर पढाई रहेका हुन्छन् । त्यसैले काठमाडौँ महानगरले पनि नेपाली भाषा बोल्दैमा कारवाहि गर्न नमिल्ने बताएको हो ।