Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

धवलागिरि हिमाल आरोहण गर्ने टोली आधार शिविर पुगे

धवलागिरि हिमाल आरोहण गर्ने टोली आधार शिविर पुगे

म्याग्दी । चालु वसन्तयाममा जिल्लाको धवलागिरि गाउँपालिका– ४ स्थित धवलागिरि हिमाल आरोहण गर्ने टोली आधार शिविर पुगेको छ । टोलीका प्रमुख लाक्पा शेर्पाले धवलागिरि हिमालको तेस्रो आधार शिविरमा पुगेसँगै आरोहणका लागि मार्ग बनाउने र रोप फिक्सिङ (डोरी टाग्ने) काम भइरहेको जानकारी दिए ।

‘मसहित छ जना शेर्पाको टोली बाटो बनाउँदै समुन्द्री सतहबाट सात हजार १०० मिटर उचाइमा रहेको तेस्रो आधार शिविर पुगेका छौँ’, उनले भने, ‘मौसमले साथ दिएमा एक(दुई दिनमा बाटो बनाएर आरोहीलाई चुचुरोमा पुर्‍याउँछौँ ।’

सेभेन समिट ट्रेक र १४ प्रिक्स एक्सीडिसनमार्फत पर्वतारोहीले धवलागिरि चढ्न लागेका हुन् । पर्यटन विभागका अनुसार वसन्तयाममा धवलागिरि आरोहण गर्न दुई समूहका छ महिला र नौ जना पुरुषले अनुमति लिएका छन् ।

गत शरदयाममा एउटा समूहका १४ जना पुरुष पर्वतारोहीले आरोहणको अनुमति लिएकामा रसियाका पाँच जनाको हिउँपहिरोमा पुरिएर ज्यान गएको थियो । लाक्पाको नेतृत्वमा तारामान तामाङ, प्रेम दोर्जे शेर्पा, पूर्वकुसाङ गुरुङ, पासाङ नर्वु शेर्पा र पेम्बा चुम्बी शेर्पाको टोली धवलागिरिको तेस्रो आधार शिविर पुगेको छ ।

छिनछिनमा परिवर्तन हुने मौसम आरोहणका लागि चुनौती बनेको शेर्पाले बताए । अन्य हिमालको तुलनामा धवलागिरि आरोहणलाई जोखिमयुक्त र साहसिक मानिन्छ ।