बासुदेव पोखरेल गुल्मी — धुर्कोट गाउँपालिकाको पशु विकास शाखाले आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत दुई दिने कुकुर बन्ध्याकरण शिविर आयोजना गरेको छ । धुर्कोट गाउँपालिका ४मा रहेको देवीस्थान प्राथमिक विद्यालयको प्राङ्गणमा सञ्चालन गरिएको उक्त शिविरमा आज पहिलो दिन ६० वटा कुकुरको बन्ध्याकरण गरिएको छ। पशु विकास शाखाका प्रमुख डा. सञ्जय प्रसाद भुसालका अनुसार दुई दिनमा कुल १२० वटा कुकुरको बन्ध्याकरण गर्ने लक्ष्य राखिएको छ ।
डा. भुसालले कुकुर बन्ध्याकरणबाट अनियन्त्रित रूपमा बढिरहेको कुकुरको सङ्ख्या नियन्त्रणमा आउने, रेबिजजस्ता रोगको जोखिम घट्ने र सामुदायिक स्वास्थ्यमा सुधार आउने कुरामा व्यक्त गर्नुभयो ।
यस्तै, धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले पछिल्ला वर्षहरूमा पालिकाभित्र भुस्याहा कुकुरको सङ्ख्या बढ्दै जाँदा रेबिजको त्रास फैलनुका साथै कुकुरको हुलले कृषकका बालीनालीमा समेत ठूलो क्षति पुर्याएको बताउनुभयो। उहाँले यस्तो समस्या समाधान गर्न गाउँपालिकाले पहलस्वरूप बन्ध्याकरण कार्यक्रम ल्याएको जानकारी दिनुभयो । साथै, जनताको मागअनुसार आगामी वर्षहरूमा पनि निरन्तर यस्ता कार्यक्रम सञ्चालन गरिने र यसको प्रभावकारिताका आधारमा थप सुधार र विस्तार गरिने योजना रहेको बताउनुभयो ।
शिविरमा सहभागिता जनाएका कृषक युवराज घर्तीले पालिकाले स्थानीय समस्या पहिचान गरी समाधानमुखी कार्यक्रम सञ्चालन गरेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, "यसरी पालिकाले पशु व्यवस्थापनको विषयमा चासो देखाउनु हाम्रो लागि निकै सकारात्मक छ । आगामी दिनमा अझ प्रभावकारी र नियमित रुपमा यस्ता कार्यक्रम ल्याइयोस् भन्ने अपेक्षा गरेका छौं ।
कुकुर बन्ध्याकरण कार्यक्रमबाट गाउँपालिका भित्र कुकुरजन्य जोखिम घट्नुका साथै ग्रामीण जनजीवन थप सुरक्षित हुने अपेक्षा गरिएको छ ।
विशाल