काठमाडौँ । मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा आज तातो लहरको सम्भावना रहेको छ । केही दिनदेखि तराईका भेगमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा बढी देखिएको र आज पनि अत्यधिक गर्मी हुने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले भनेको हो ।
तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुने जस्ता स्वास्थ्य समस्या देखिन सक्ने बताईएको छ ।
तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो ठाउँमा बस्न, बाहिरी वातावरणमा बढी नजान, चर्को घाममा बाहिर ननिस्किन, हल्का तथा सुतीको कपडा लगाउन, बाहिर निस्कँदा टाउको छोप्न अथवा टोपी लगाउन, नियमित पानी तथा जुस, सर्वत प्रशस्त मात्रामा पिउन र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग सल्लाह लिन महाशाखाले आग्रह गरेको छ ।
यसैबीच भोलि बेलुकीदेखि प्रिमनसुनी प्रणाली फेरि सक्रिय हुने र पानी पर्ने मौसमविदले बताएका छन् ।