काठमाडौँ । एकमहिना अघि मात्र एक ट्रकभरि २५ करोड बोकर जादै गर्दा काठमाण्डौ बाट पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकको फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार चलान भएका छन् । भने २५ करोडको मालिक भनिएका सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई टोखा नगरपालिका–१० बस्ने नारायण पौडेलको पनि कुनैअत्तोपत्तो छैन । उनी अहिले लुकेर बसेका छन । काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड बराबरको डलर र युरो प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दायर भएको थियो ।
तस्करीमा संलग्न पौडेल माओवादी नेता हुन् । उनी भोटेकोशी गाउँपालिकाका पूर्वअध्यक्ष राजकुमार पौडेलका सहोदर दाजु हुन् । राजकुमार माओवादीकै टिकटमा गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । ०७९ को निर्वाचनमा पनि उनी सोही गाउँपालिका अध्यक्षमा उठेका थिए । तर, उनी कांग्रेस उम्मदवार पासाङनुर्बु शेर्पासँग पराजित भएका थिए । राजकुमार ०७४ मा भएको २२ किलो सुन तस्करीमा संलग्न थिए । त्यसवेला नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले राजकुमारसहित ११ जनाविरुद्ध मुद्दा चलाएको थियो । सो घटनामा नारायण पौडेल पनि संलग्न रहेको प्रहरीको निष्कर्ष थियो । उता ४३ वर्षका कुसाङ यसअघि पनि सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए ।
२०७३ पुस १३ मा अपराध महाशाखा (हाल उपत्यका अपराध अनुसन्धान कार्यालय) ले उनलाई पक्राउ गरेको थियो । ५ वर्ष जेल बसेर लामा २०७८ मा रिहा भएका हुन् । त्यस बेला उनी ७ केजी सुनसहित पक्राउ परेको एसएसपी बस्नेतले बताए । जेलबाट छुटेपछि लामाले फेरी सुन तस्करी सुरु गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । सुन तस्करीमा उनले भरिया र चालकको रूपमा काम गर्ने गरेको पाइएको छ । ‘फुच्चे’ लाई थप अनुसन्धान र कानुनी कारबाहीका लागी राजस्व अनुसन्धान विभागमा पठाइने एसएसपी बस्नेतले जानकारी दिए ।
राजस्व अनुसन्धान विभागकी प्रवक्ता कृष्णकुमारी श्रेष्ठका अनुसार मंगलबार काठमाडौं जिल्ला अदालतमा उनीहरू विरुद्ध मुद्दा दायर भएको हो । दुवै जनालाई प्रतिवादी बनाएर विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा ३, ४, ५ र ९ अनुसारको कसुरमा मुद्दा दर्ता गरिएको श्रेष्ठको भनाइ छ ।उनीहरूविरुद्ध बरामद भएको रकम २५ करोड ३४ लाख ७८ हजार ८४२ रुपैयाँ बराबरको बिगो र जरिवाना समेत मागदाबी गरिएको छ । मुद्दा दायर गरिएका मध्ये पौडेल भने फरार छन् । बरामद ट्रकलाई कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन अनुसार जतफका लागि मागदाबी गरिएको छ । कुसाङ यसअघि यस्तै सुन प्रकरणमा पक्राउ परेर छुटेका व्यक्ति भएकाले थप सजाय समेत मागदाबी गरिएको छ । गत ४ चैत राति ना ७ ख १६५२ नम्बरको ट्रकमा लुकाएर चीन तर्फ लाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकका ४३ वर्षीय चालक लामालाई पक्राउ गरेको थियो ।