काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले साइकल डोर्याउँदै हिँडेका एक व्यक्तिलाई लछार पछार पारेको एउटा भिडियोले यतिबेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । सार्वजनिक भिडियोमा नगर प्रहरीलेहरुले ति व्यक्तिको साइकल जवफत गर्न खोजेको देखिएको छ तर ती व्यक्तिले भने साइकल छोड्न मानेका छैनन ।
यसै विषयलाई लिएर महानगरका मेयर बालेन शाह र नगर प्रहरी प्रमुख राजु पाण्डेको आलोचना भइरहेको छ । भिडियो काठमाडौँको बालुवाटारमा बुधबार बिहान करिब ८ बजेतिर खिचिएको हो । र ति साइकल डोर्याउँदै हिड्ने व्यक्ति कवाड व्यवसायी भएको खुलेको छ ।
काठमाडौँ महानगरका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार बालुवाटार क्षेत्रबाट कवाड मजदुरहरुले बिहानको समयमा निकै हल्ला गर्ने गरेको गुनासो आएको थियो । त्यसपछि नगरप्रहरी इन्स्पेक्टर शम्भु विष्टको नेतृत्वमा उक्त क्षेत्रमा नगर प्रहरीहरु खटाइएको थियो । तर इन्स्पेक्टर विष्टले सही ह्यान्डल गर्न नसकेको नगर प्रहरी प्रमुख पाण्डेले बताएका छन ।
अहिले इन्स्पेक्टर विष्टलाई कारबाहीमा तानिएको छ । उनलाई बालेन शाह र राजु पाण्डे ले ठाउँको ठाउँ कारवाही गर्ने निर्णय लिएको बताइएको छ । महानगर प्रहरी बलले सम्पादन गर्ने कार्य गर्दा अमर्यादित तथा गैरव्यवसायिक ढंगले सम्पादन गरेको सामाजिक सञ्जालमा आएको देखिएकोले निजहरुलाई उक्त जिम्मेवारीबाट मुक्त गरी महानगर प्रहरी ऐन २०८० बमोजिम आवश्यक करबाहीको लागि महानगर प्रहरी बलको कार्यालयमा तानिएको पाण्डेले जानकारी दिएका छन । साइकलमा रहेका ती व्यक्ति पनि कवाडका सामान उठाउन निस्किएको दाबी गरिएको छ । लामो समयदेखि काठमाडौंभित्र कवाड व्यवसायीलाई नगरप्रहरीले दमन गर्दै आएको छ ।
केही समयअघि प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद प्रभु साह र डा. अमरेशकुमार सिंहले कवाड व्यवसायीमाथि दमन भएको भन्दै आपत्ति जनाएका थिए । प्रहरीले दमन गरेको र ५० भन्दा बढी घाइते भएको भन्दै उनीहरूको जीउधन र व्यवसायको सुनिश्चितताको माग गरेका थिए । लामो समयदेखि कवाड व्यवसायीहरू आन्दोलनरत छन् । पछिल्लो समयमा नगर प्रहरीले फुटपाथ व्यापार निषेध गरेको छ । काठमाडौँ नगर प्रहरी पनि बेला बेलामा बिवादमा तानिने गरेको छ । फुटपाथ व्यापार निषेधका नाममा सर्वसाधारणलाई दुःख दिँदै आएको आरोप महानगरलाई लाग्र्दै आएको छ । महानगर आन्तरिक प्रशासन तथा जरिवाना इकाइका अनुसार करिब साढे दुई वर्षको अवधिमा नगरप्रहरीले फुटपाथ व्यवसायीका ५४९ ठेलागाडा र ७१४ वटा साइकल खोसिदिएको छ ।