काठमाडौँ ।संस्कृतिका माध्यमबाट नवजागरण प्रवाह गर्ने उद्देश्यकासाथ सांस्कृतिक संस्थानको आयोजना, नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको सहकार्य, नेपाल पर्यटन बोर्डको प्रवद्र्धन, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको विशेष सहयोगमानयाँ वर्ष २०८२ सालको अवसरमा “सांस्कृतिक पर्यटनका लागि संस्कृति प्रवद्र्धन, संस्कृति प्रवद्र्धनका लागि नवजागरण” भन्ने श्लोकनकासाथ “शुभारम्भ सांस्कृतिक साँझ २०८२” वैशाख १ गते अपरान्ह ३ः३० बजे सांस्कृतिक संस्थानको मेगा हल जमल काठमाडौँमा सम्पन्न गर्ने तय गरिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकाटाको लोकप्रिय खण्डकाव्यमा आधारित संस्थानका पूर्वकर्मचारी नेपाल कलाभूषण श्री चन्द्रराज शर्माको सङ्गीत, संस्थानका पूर्वमहाप्रबन्धक स्वरसम्राट नारायणगोपाल, तारादेवी लगायतले गाउनुभएको कालजयी कृति “गीति नाटक मुनामदन”राष्ट्रिय नाचघरदेखि सांस्कृतिक संस्थानसम्मको इतिहासमा लगातार ६÷७ महिनाभन्दा बढी प्रदर्शन भई रजत जयन्ती मनाउन सफल ऐतिहासिक गीति नाटक मुनामदन वर्षौंदेखि श्रव्य सामग्री हराएर मञ्चन तथा प्रदर्शन हुन सकेको थिएन तर वर्तमान महाप्रबन्धक किरण बाबु पुनको अथक प्रयासमा श्रव्य सामग्री उत्खनन गरी प्राप्त गर्न सफल भएकाले फेरि एकपटक ऐतिहासिक गीति नाटक मुनामदन मञ्चन गरिएकोले शुभारम्भ सांस्कृतिक साँझ २०८२ मार्फत समुद्घाटन गरी नियमित प्रदर्शन गरिने भएको छ ।
संस्थानका पूर्वकर्मचारी गोविन्द प्रसाद तिमिल्सिनाले पहिलो निर्देशन गर्नुभएको “गीति नाटक मुनामदन” मा तत्कालीन कलाकार कर्मचारीहरू विमला श्रेष्ठ मुना र कोकिल गुरुङ मदनको भूमिकामा अभिनय गर्नुभएको थियो भने अन्य भूमिकामा संस्थानका कलाकार कर्मचारीहरूको अभिनय रहेको थियो । हाल उक्त गीति नाटक संस्थानमा कलाकार सेवामा कार्यरत कर्मचारी माया थापाको निर्देशनमा सुशिला थापा मुना र विपिन घिमिरे मदनको भूमिकामा तथा अन्य भूमिकामा संस्थानका कलाकार कर्मचारीहरुको अभिनय रहेको छ । साथमा सात प्रदेशको अमूर्त संस्कृतिमूलक कार्यक्रम “नेपाली संस्कृति” समेत समुद्घाटन गरिने भएको छ ।
कार्यक्रम “नेपाली संस्कृति” लाई नेपाल पर्यटन बोर्डको सांस्कृतिक पर्यटनमैत्री क्रियाकलाप, नेपाल सरकार गृह मन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको घटना दर्ता सप्ताह विशेष जागरण क्रियाकलाप, नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयको संस्कृतिमा युवा आकर्षण विशेष जागरण क्रियाकलाप र गीति नाटक मुनामदनको सहित नवजारण प्रवाह गर्ने उद्देश्यकासाथ सात प्रदेशमा प्रदर्शन गर्ने तयारी समेत गरिएको छ । सात प्रदेशका कार्यक्रमहरूमा सम्बन्धित स्थानीय तहको मौलिक संस्कृतिलाई समेत विशेष स्थान दिइनेछ । सात प्रदेशका मिति तथा स्थान ःवैशाख १ गते काठमाडौँ, सोलुखुम्बु सल्लेरी वैशाख ५ गते, जनकपुर वैशाख ७ गते, महेन्द्रनगर वैशाख १० गते, वर्दिया गुलरिया वैशाख १२ गते, सुर्खेत वैशाख १४ गते हुने छ । वि.सं.२०१६ सालमा राष्ट्रिय नाचघरको रूपमा स्थापित तथा नाम परिमार्जन सहित वि.सं.२०२९ सालमा पुनर्गठन भएको सांस्कृतिक संस्थान ६५ वर्षीय सांस्कृतिक विरासत कायम राख्न सफल नेपाल सरकारको संस्कृति सम्बन्धी ज्येष्ठ एवम् आधिकारिक निकाय हो । अनेक समस्याले ग्रसित अवस्थामा रहेको सांस्कृतिक संस्थान किरण बाबु पुन महाप्रबन्धक भएसँगै प्रगतितर्फ लम्किरहेको छ । आफ्नो ऐतिहासिक विरासत कायम राख्न सांस्कृतिक संस्थान पछिल्लो समय नयाँ शिराबाट अगाडि बढेको छ ।