काभ्रे । लागुऔषध विरुद्धको अपरेसनलाई सशक्त बनाउँदै सशस्त्र प्रहरी बल नेपाल (सप्रबल) अन्तर्गत ईन्टिलिजेन्स ब्युरोको विशेष टोलीले काभ्रेको बनेपा नगरपालिका–८ स्थित बसपार्क बाट पाँच केजी लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
बिहीबार दिउँसो १ः१० बजे सुरक्षा निकायको गोप्य सूचनाका आधारमा “हाम्रो सकुवा सेन्टर तथा नेवारी खाजा घर” बाट शंका लागेका दुई व्यक्तिलाई नियन्त्रणमा लिइएको बताइएको छ । पक्राउ पर्नेहरूमा धुलिखेल नगरपालिका–६ निवासी २८ वर्षीय अमृत भण्डारी र धुलिखेल नगरपालिका–४ निवासी ३० वर्षीय कृष्ण सत्याल रहेको ईन्टिलिजेन्स ब्युरोको टोलीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरीले उनीहरूको साथबाट पोल्याण्डबाट आयात भएको आशंका गरिएका लागुऔषध ५ केजी बरामद गरेको जनाएको छ । ती लागुऔषधहरू ४ वटा प्लास्टिकका झोलामा प्याक गरिएको अवस्थामा फेला परेका थिए भने थप १०० ग्राम छुट्टै प्याकिङमा राखिएको थियो । साथै उनीहरुको साथबाट दुई थान मोबाइल फोन,एक थान पल्सर २२० सिसी मोटरसाइकल (बा ३८ प १४८१) र नगद ६,६०० रुपैयाँ समेत बरामद गरिएको छ ।
पक्राउ परेका दुवैजनालाई लागुऔषध कसूर अन्तर्गत थप अनुसन्धानका लागि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ ।
यस घटनाले बनेपा क्षेत्रभित्र लागुऔषध कारोबारको गतिविधि बढ्दै गएको संकेत गरेको भन्दै स्थानीयवासीहरू पनि चिन्तित बनेका छन् । सुरक्षा निकायले भने लागुऔषध नियन्त्रणका लागि आगामी दिनमा थप प्रभावकारी कारबाही सञ्चालन गरिने जनाएको छ ।